२ चैत, पर्वत । सेवामा सुधार गर्दै लैजान थालेको पर्वत अस्पतालमा चार बर्ष देखि रोकिएको एपेन्डिसाइटिसको अप्रेसन (शल्यक्रिया) पूनः शुरु भएको छ ।
पर्वत अस्पतालमा शुक्रबार २० वर्षीया एक युवतीमा देखा परेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरि रोकिएको सेवा सुचारु भएको हो ।
पर्वत अस्पतालमा यस अघि एपेन्डिसाइटिस अप्रेसन भएपनि बीचमा रोकिएको थियो । २०७१ सालमा तत्कालीन अस्पताल प्रमुख डा.फणिन्द्र बरालको नेतृत्वमा शुरु भएको अप्रेसन सेवा रोकिएको थियो । डा. बरालले जिल्ला अस्पतालमा पहिलो पल्ट अप्रेसन सेवाको शुभारम्भ गरेका थिए । बरालको नेतृत्वमा अस्तापलमा झण्डै १९ वटा अप्रेसन सफल भएका थिए । डा. बरालले हर्निया, हाइड्रोसिल र एपेन्डिसाइटिसको अप्रेसनको गरेका थिए ।
बरालको सरुवा भएपछि डा. बुद्धिबहादुर थापा अस्पतालको प्रमुख बनेका थिए । थापा अप्रेसनका अनुभवी डाक्टर भए पनि विरामीलाई बेहोस बनाउने चिकित्सक –एनेस्थेसिया) को अभाव भएपछि अप्रेसन सेवा अवरुद्ध बनेको थियो । डा. थापाको सरुवा भए पछि अस्पतालमा अप्रेसन गर्ने डाक्टरकै अभाव भएको थियो । पछिल्लो पल्ट भने विशेषण डाक्टर र एनेन्सथेसिया चिकित्सवको उपलब्धता भएपछि पर्वत जिल्ला अस्पतालमा पुनः अप्रेसन सेवा शुरु भएको छ ।
डा. बिष्णु भण्डारी नेतृत्वटिमले शल्यक्रिया गर्न शुरु गरेको हो । डा. विष्णु भण्डारी नेतृत्वको चिकित्सकीय टोलीले १० बर्षिया युवतीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरेको छ । शल्यक्रियामा डा. विष्णु भण्डारीको नेतृत्वमा डा. शिशिर देवकोटा, डा. सागर बराल, डा. सन्तोषी थपलिया, डा. सतिश बास्तोला र डा. सुरज नेपाली लगायतको टोली सहभागी थिए ।
एपेन्डिसाइटिस जस्ता समस्या देखापर्दा हजारौं रुपैयाँ रकम बोकेर पोखरा लगायत देशका अन्य अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ । जिल्ला बाहिर नीजि अस्पतालमा एपेन्डिसाइटिसको उपचार गराउन जाँदा बिरामीहरुको कम्तिमा ४० हजार रुपैयाँ खर्च हुने गरेको छ । पर्वत अस्पतालमा जम्मा ७ हजार रुपैयाँमा नै एपेन्डीसाइटीसको शल्यक्रिया हुने गरेको अस्पतालका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
शल्यक्रियामा संलग्न डा. विष्णु भण्डारी पर्वतमा एपेन्डीसाइटीसको शल्यक्रिया सहजै रुपमा गर्न सकिने अवस्था रहेकोले यस क्षेत्रका बिरामीलाई अब अन्यत्र लैजानु नपर्ने बताउँछन । लामो सडक यात्राबाट शल्यक्रियाका लागि पोखरा पठाउँदा एपेन्डीसाईटीस फुलेर फुट्न सक्ने र त्यसबाट बिरामीको ज्यानै जान सक्ने भएकाले त्यो जोखिम मोल्नुभन्दा पर्वत अस्पतालमा नै सुरक्षित शल्यक्रिया गराउन उनले अनुरोध गरे ।
शनिबार पनि पर्वत जिल्ल अस्पतालमा एक जनाको शल्यक्रिया गरेर बच्चा जन्माउने काम भएको छ । प्रसुति सेवा लिन आएकी महिलालाई अप्रेसन गरेर सुत्केरी गराइएको अस्पतालले जनाएको छ । आजको अर्थ वीट साप्ताहिकमा खबर छ ।




