२७ फागुन, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते भएका छन ।
कुश्मा नगरपालिका २ खुर्कोट तिसमुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते भएका हुन । घाइते शर्मालाई पर्वत जिल्ला अस्पतालमा उपचारका लागि राखिएको छ । अस्पतालमा रहेका शर्मालाई भेटघाट गरी प्रतिनिधि सभाका सांसद पदम गिरीले घाइतेको निशुःल्क उपचारको ब्यवस्था मिलाउन अस्पताललाई आग्रह गरेका छन ।
घर नजिकैको वनमा घाँस काट्न गएको बेला मंगलबार दिउँसो बृद्ध शर्मालाई चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफुँ भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताए । उनको अबस्था भने सामान्य नै रहेकोछ ।
एक साता देखि खुर्कोटकै छिमेकी कुस्मा नगरपालिका ३ दुर्लुङ्ग घोगेनीमा चितुवाले लगातार पशु चौपाय मारेपछि सर्वसाधरण त्रसित भैरहेका छन ।




