२२ फागुन, पर्वत । पर्वतको कुश्मा नगरपालिकाकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले नगरवासिहरुलाई निष्पक्ष रुपमा न्याय सम्पादन गर्ने बताएकी छिन ।
तीन वर्ष पछि गठन भएको न्यायिक समितिले अहिलेसम्म थाति रहेका र आगामी दिनमा पनि आउने उजुरीहरुमा यो पक्ष र उ पक्ष नभनीकन न्यायधिशको भूमिकामा न्याय सम्पादन गर्ने बताईन ।
न्यायिक समिति बनेपछि पत्रकार सम्मेलन गर्दै उपप्रमुख लामिछानेले विगतदेखि पहल गर्दै आएपनि न्यायिक समिति गठन गर्न सम्भव नभएको भन्दै अहिले अदालतको आदेशपछि जनप्रतिनिधिहरु सक्रिय भएर लागेको बताईन।
उनले संविधानले नै व्यवस्था गरेको न्यायिक समिति लामो समय सम्म नबन्नु दुःखद भएको बताउँदै ढिलै भएपनि गठन भएको र अबको दुई वर्ष नगरवासीहरुका हरेक समस्याहरुलाई निष्पक्ष रुपमा समाधान गर्न पहल गर्ने बताईन। उनले जुनसुकै घटनामा पनि पक्ष विपक्षलाई अन्याय नहुने किसीमले किनारा लगाउने प्रतिवद्धता ब्यक्त गरिन।
बुधवार सम्पन्न पाँचौ नगर सभाले न्यायिक समितिलाई पुर्णता दिएको हो । न्यायिक समितिमा नेकपावाट निर्वाचित तेजप्रसाद पाध्या र देवेन्द्र नेपाली रहेका छन ।
कार्यक्रममा समितिका सदस्य तेजप्रसाद पाध्याले नगरवासीहरुलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष भएर न्यायिक सेवा प्रदान गरिने प्रतिवद्धता ब्यक्त गरे ।
कुश्मा नगरपालिकाका स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै ३ बर्षमा न्यायिक समितिले पूर्णता पाएको हो ।




