Print

महाशिवरात्री : कुश्माको डेढ सय बर्ष पुरानो शिवालय मन्दिरमा पुजाको भब्य तयारी

८ फागनु, पर्वत । विक्रम सम्ब्त १९१७ सालमा निर्माण भएको पर्वतकै पुरानो धनेश्वर शिवालय मन्दिर कुश्मामा शिवरात्रीको अवसरमा विशेष पुजाआजा हुने भएको छ । मुक्तिनाथ तिर्थयात्राको क्रममा भगवान शिव प्रकट भए पछि तिर्थयात्रीले आफैले निर्माण गरेको कुश्मा नगरपालिका वडा न ६ मा रहेको शिव मन्दिरमा महाशिवरात्रीको अवसरमा विशेष पुजाआजा हुँदैछ ।

प्रत्येक शिवरात्रीको अवसरमा बर्षेनी पुजाआजा हुँदै आए पनि मन्दिर स्थापना भएको झण्डै १६ दशक पुगेको अवसरमा विशेष पुजाआजा गर्न लागिएको मन्दिर संरक्षण समितिले जनाएको छ । धनेश्वरी शिवालय मन्दिर संरक्षक शिव गिरीका अनुसार मन्दिरमा २४ घण्टे भजन किर्तन सहितको पुजा हुने भएको हो । नेपाल सरकार पुरातत्व विभागले पुरातत्व सम्पादको सुचिमा सुचिकृत गरेको उक्त मन्दिर जिल्लाकै पुरानो र एतिहासिक मन्दिर हो ।

परापुर्वकालमा मासको दालको जडानबाट मन्दिर निर्माण गरिएका कारण आधुनिक मन्दिर भन्दा निकै फरक रहेको सचिव गिरीले बताए । कुश्मा नगरपालिका वडा न ६ का वडाअध्यक्ष रुद्र गिरीले मन्दिरलाई जिल्लाकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्दै लगिने बताए । उनले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण भएको र त्यो योजना कार्यान्वयनको चरणमा रहेको समेत बताए ।

मन्दिरकै नाउँमा रहेको गुठीको झण्डै १० रोपनी भन्दा बढि जग्गामा सत्तल, सभाहल, पार्किक र उद्याग समेतको निर्माण गरी मन्दिरको गरिमालाई थप बृद्धि गरिने वडाअध्यक्षले योजना सुनाए । शिवरात्रीको अवसरमा शिवको दर्शन गर्नका लागि हिन्दुधर्मावलम्बीहरुको मन्दिरमा भिड लाग्ने गरेको छ ।

शिवरात्रीको अवसरमा जिल्लाका अन्य धार्मिक स्थलहरुमा समेत शिव भगवानको विशेष पुजाआजा हुँदैछ । जिल्लाको अर्को एतिहासिक गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा लगाएतका धार्मिक स्थलहरुमा पनि शिवरात्री पुजाको भब्य तयारी भएको छ ।