Print

सांसद गिरी संसदीय अर्थ समितिको सदस्य

१७ माघ, पर्वत । प्रतिनिधि सभाको शुक्रवारको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका हुन ।

गोकर्णराज विष्ट र पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित पदम गिरी संघीय संसद्को अर्थ समितिको सदस्य बनेका छन । विष्ट पूर्व मन्त्री हुन । श्रम तथा रोजगार मन्त्री विष्ट पछिल्लो मन्त्रीपरिषद परिर्वतनसंगै मन्त्री पदबाट बाहिरिएका थिए । उनलाई महत्वपूर्ण समितिको जिम्मेवारी दिने गरी अर्थ समितिको जिम्मेवारी प्रदान गरिएको हो ।

यसैगरी सांसद गिरी यस अघि कानून न्याय तथा मानव अधिकार समितिको सदस्य थिए । गिरीलाई संसदीय समितिको महत्वपूर्ण अर्थ समितिको सदस्य पदको जिम्मेवारी प्रदान गरिएको छ ।

अर्थ समितिमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, पूर्व मन्त्री विजयकुमार गच्छधार, पूर्व अर्थ मन्त्री विष्णु पौडेल, पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस नेता शसांक कोइराला, राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर, नेकपा नेतृ रामकुमारी झाक्री लगाएका नेताहरु सदस्यमा रहेका छन ।

संसदको वैठकबाट शिवमाया तुम्बाहाङफे र मायादेवी न्यौपाने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, मात्रिकाप्रसाद यादव र रामकुमारी चौधरी कानून न्याय तथा मानवअधिकार समितिमा रहने भएका छन् ।

थममाया थापा महिला तथा सामाजिक समिति, लालबाबु पण्डित राज्य व्यवस्था तथा सुशासन समिति, विद्या भट्टराई शिक्षा तथा स्वास्थ्य समिति, चक्रपाणि खनाल, रघुवीर महासेठ र धनबहादुर बुढा सार्वजनिक लेखा समितिमा रहनेछन् । प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो ।

बैठकले कार्यव्यवस्था परामर्श समितिको सदस्यको नाम पनि हेरफेर गरेको छ । रामेश्वर राय यादवको ठाउँमा प्रभू साहको नाम हेरफेर गर्ने सभामुखको प्रस्तावलाई बैठकले सहमति जनाएको थियो ।