Print

‘देशभर अव गाउँ फर्क अभियान चलाउनुपर्छ’–सांसद गिरी

१० पुस, पर्वत । गाउँघरहरु सुनसान बन्न थालेको भन्दै सांसद गिरीले अव देश भर गाउँ फर्क अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका छन । जिल्लाको मोदी गाउँपालिका १ भुकदेउरालीमा आयोजीत भलिबल प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन शत्रमा आफ्नो भनाई राख्दै गिरीले यस्तो धारणा ब्यक्त गरेका हुन ।

सरकारले गाउँको विकासलाई प्राथमिकतामा राखेर गाउँ विकासको अभियान चलाई रहे पनि गाउँघर भने रित्तिदै गएकोमा गिरीले चिन्ता ब्यक्त गरे । उनले गाउँबाट शहर र शहरबाट विदेश जाने दर नेपालमा बढिरहेको बताउँदै अव भने गाउँमै बस्ने वातावरणको सृजना हुँदै गएको समेत बताए । ‘हिजो गाउँमा विकास थिएन, मानिस बसाईसराई गरेर बजार झरे’ गिरीले भने –‘अव गाउँमा बस्न मिल्ने गरी विकासका आयोजनाहरु आएका छन् त्यसैले गाउँ फर्कनुपर्छ ।’ उनले परदेशमा रहँदा समेत कतिपय नेपालीहरुले आफ्नो जन्मगाउँको माया गरीरहेको भन्दै गाउँ बनाउने अभिभारा सवै जनाको रहेको बताए ।

‘गाउँमा पक्कि सडक आउँदैछ, खानेपानीको समस्या समाधान हुँदैछ, स्वास्थ्य चौकीहरुको स्तरबृद्धि भईरहको छ ।’ उनले भने –‘विकासको अनुभव गर्न पनि अव गाउँ छाडेकाहरु गाउँमा फर्किनुपर्छ ।’ गाउँको उत्पादनले शहरमा बस्नेहरुलाई खाने प्रवन्ध हुनुपर्नेमा गाउँका जग्गाहरु सवै बाँझा पल्टिकोमा गिरीको चिन्ता थियो ।
कार्यक्रममा मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले गाउँपालिकाले गाउँका सवै खालाका साना समस्याहरु समाधान गर्ने गरी कार्य योजना निर्माण गरेको बताए । उनले विकास निर्माणको काममा सवैको साझेदारी भएमा त्यसमा गाउँपालिकाले सहकार्य गर्न तयार रहेको समेत बताए । क्लबले ल्होसार पर्वको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा महिला तथा पुरुष भलिबल प्रतियोगीताको आयोजना गरिएको छ ।