Print

जलजला गाउँपालिकाद्धारा विपि स्मृति भवनका लागि १० लाख विनियोजन

९ भदौ, पर्वत । जलजला गाउँपालिकामा निर्माणधिन बिपि स्मृति भवनका लागि जलजला गाउँपालिकाद्धारा १० लाख रुपैया विनियोजन भएको छ । गाउँपालिकाको आइतबार सम्पन्न कार्यपालिकाको वैठकले भवन निर्माणका लागि १० लाख रकम विनियोजन गरेको हो । गत फागुनमा नेपाली काँग्रेसका केन्द्रीय सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गरेको उक्त भवनको निर्माण कार्य दु्रत रुपमा अघि बढ्ने भएको हो । भवन निर्माणका लागि आर्थिक श्रोतको कमी भईरहेको बेला गाउँपालिकाले भवन निर्माणका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । स्थानीय मोहनबहादुर मल्लका परिवारले जग्गा निशुल्क प्रदान गरेपछि गत फागुनमा देउवाले भवनको शिलन्यास गरेका थिए ।

गाउँकार्यपालिकाको बैठकले सर्बसम्मत रुपमा उक्त रकम भवन निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको नेपाली भवन निर्माण समितिका संयोजक समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । ‘वीपी काँग्रेसको मात्र नभएर सिंगो राष्ट्रको नेता भएकोले उनको स्मृतिमा बन्न लागेको भवनमा सबै कार्यपालिका सदस्यज्यूहरुले हार्दिकता देखाउनुभयो’ गाउँपालिका अध्यक्ष मल्लले भने ।

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पु¥याएका अन्य नेताहरुको स्मृतिमा समेत गाउँपालिकाले आगामी दिनमा पनि बजेट विनियोजन गर्ने मल्लको भनाई छ । उक्त भवन निर्माणका लागि अध्यक्ष मल्लले ब्यक्तिगत रुपमा पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन । जलजलाका विभिन्न जनप्रतिनिधिहरु र अन्य शुभेच्छुकहरूबाट समेत लाखौं रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आइसकेकोले पनि भवन निर्माणको काम तिब्रताका साथ अघि बढ्ने मल्लले जानकारी दिए ।
भवन निर्माण समितिले मोहनचोकको एक रोपनी क्षेत्रफलमा तीनतलाको सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । अध्यक्ष मल्लको अग्रसरतामा स्वर्गीय मोहनबहादुर मल्लको परिवारले ९० लाख बराबरको जग्गा निशुल्क उपलब्ध गराएको थियो ।

यसैगरी जलजला गाउँपालिकाको आइतबार सम्पन्न बैठकले विभिन्न चाडपर्वलाई मध्यनजर गर्दै गाउँपालिका भित्रका सडकहरूको मर्मत गर्नेगरी २० लाख रकम विनियोजन गरेको छ । साथै यात्रुहरुको सहज आवागमनमा लागि ग्रामीण सडकमा चल्ने सबारीसाधनमा भाडा समायोजन गर्ने लगायतका निर्णयहरु गरेको गाउँपालिकाका प्रवक्ता देवेन्द्र भण्डारीले जानाकारी दिए । ‘छिट्टै नै सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर गाउँपालिकाभित्रको यातायातको भाडा समायोजन गर्छौ’ वडा नम्बर ३ का अध्यक्ष समेत रहेका भण्डारीले भने ।