Print

कालीगण्डकी लोकमार्ग सांसद गिरीद्धारा अवलोकन, बजेट अभाव हुन नदिने प्रतिबद्धता

२१ चैत्र, पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डको केहि भाग कालोपत्रे हुने भएको छ । विगत लामो समय देखि कालोपत्रेको लागि माग भएको फाइल प्रतिनिधि सभा सदस्य पदम गिरीको पहलमा स्विकृत भएसंगै लोकमार्गको सेतीवेणी–रानीपानी खण्ड कालोपत्रे हुने भएको हो । भौतिक योजना मन्त्रालयल हुँदै अर्थ मन्त्रालयले कालोपत्रे गर्ने कार्यका लागि स्विकृति प्रदान गरेसंगै सडक कालोपत्रे हुने भएको हो । यसै वीच सांसद गिरीले उक्त सडकको अवलोकन तथा स्थानीयबासीसंगै अन्तरक्रिया गरेका छन ।

करिडोरको पर्वत खण्ड कालोपत्रे गर्नका लागि ठूलो प्रयास सफल भएको भन्दै स्थानीयबासीलाई बधाई दिन पर्वतको दक्षिणी क्षेत्र विहादी र पैयू पुगेका गिरीले उक्त अवसरमा योजनाहरुको अनुगमन तथा आगामी बजेटमा समावेश गर्नुपर्ने योजनाहरुको विषयमा छलफल गरेका छन । विहादी गाउँपालिकामा आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै विहादी गाउँपालिका वडा न २ का वडा अध्यक्ष ओम कुँवरले भने–‘लोकमार्गको वीच भागबाट कालोपत्रे शुरु भएको छ, यसमा सांसदको तारिफ गर्न लायक भूमिका रह्यो’ वडा अध्यक्ष कुँवर थपे–‘सांसद गिरीले फाइल समातेरै मन्त्रालय धाएका कारण सडक कालोपत्रे हुने भएको हो ।’

विहादी गाउँपालिकाको तर्फबाट सडक कालोपत्रको फाइल बोकेर काठमाण्र्डौ पुगेका कँुवरले कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरुले काममा ध्यान दिएको बताउँदै केहि बर्षमा दक्षिणी क्षेत्रले विकासको महशुस गर्ने दावी समेत गरे । उता, विहादी ६ शालीग्रामका वडा अध्यक्ष टेकबहादुर थापाले शालीग्रामबाट कालोपत्रेको योजना शुरुवात गरेर सांसद गिरी लगाएतका जनप्रतिनिधिले दक्षिणी क्षेत्रका जनताको मुहार उज्यालो पारेको बताए । विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले केहि बर्षमै दक्षिणी क्षेत्रमा देखिने गरी विकास हुने दावी गर्दै संघिय सरकार, र प्रदेश सरकारले विकासका सवै गतिविधिहरुमा सहयोग गरीरहेको बताए ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चिसापानी–हुवास–बर्राचौर सडक, सेतीवेणी शालीग्राम शिला, निर्माणधिन सेतीखोलामा मोटरेवल पुल तथा कालीगण्डकी लोकमार्गको अवलोकन गर्दै सांसद गिरीले योजनाका कामहरुलाई तिव्रताका साथ अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । केहि साता भित्रै चिसापानी देखि वहाकीभ¥याङ सडकको कालोपत्रे हुने जानकारी गराउँदै सांसद गिरीले सेतीवेणीमा रहेको शालिग्राम शिलाको संरक्षणको लागि ठोस योजना निर्माणमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सेतीबेणी बजारमा रहेको जिर्ण बन्दै गएको झोलुंगे पुल विस्थापन गरी नयाँ पुल निर्माणका लागि तत्कालै पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सांसद गिरीले कालीगण्डकी लोकमार्गमा बजेटको अभाव हुन नदिने स्पष्ट पारे । राष्ट्रिय गौरबको आयोजना भएका कारण उक्त सडकमा सवैको ध्यानकेन्द्रित भएको भन्दै ठूलो महेनत पछि सेतीवेणी देखि रानीपानीसम्मको सडक कालोपत्रे गर्न सफल भएकोमा स्थानीयबासीले बधाई ज्ञापन गरे ।

सांसद गिरीले विहादी गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पालिकाले गर्न नसक्ने ठूला योजनाहरु तत्काल लेखि पठाउन निर्देशन दिदै ति योजनाहरु प्रदेश र संघिय सरकारले आगामी बर्ष सम्बोधन गर्ने बताए । विहादीको शालीग्राम क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या रहेको भन्दै मुहान उपलब्ध भएमा खानेपानीको योजना तत्काल ल्याउन सकिने गिरीले बताए । सिंचाई र स्वास्थ्य सेवाको पहुँच र सर्वसुलभतामा आफ्नो ध्यान केन्द्रित भईरहेको गिरीको भनाई छ । जिल्लामा १ सय ५० किलोमिटर सडक कालोपत्रेको लागि अहिले काम भईरहेको भन्दै आफूले निर्वाचनमा गरेका सबै प्रतिबद्धताहरु पुरा गरेरै छाड्ने अठोट समेत गिरीले दोहेराए ।

सांसद गिरीको पहलमा यस अघि वहाँकी देखि रानीपानी सडकलाई पक्कि बनाउनका लागि ४ करोड तथा सेतीवेणी–रानीपानी सडक कालोपत्रेका लागि ४१ करोड रकम विनियोजन भएको थियो ।