१७ चैत्र, पर्वत । नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवस पर्वतमा पनि मनाइएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वतले पर्वत अस्पतालमा पुगेर शुभकामना आदानप्रदान तथा बिरामीलाई फलफुल बितरण गरेको हो । अस्पतालमा उपचार गराइरहेका १६ जना बिरामीलाई फलफुल बितरण गरिएको हो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले विकास निर्माणसहित मुलुकको समृद्धिका लागि पत्रकारिता क्षेत्रले निगरानी र खबरदारी गर्ने समय आएको बताए । उनले राज्यभित्रका सबै बेथितिको अन्त्य गरेर थितिमा लैजानका लागि पनि पत्रकारिताको महत्वपूर्ण भुमिका हुनेमा जोड दिए ।
‘मुलुकको अहिलेको कार्यभार भनेको विकास निर्माणसहित मुलुकको समृद्धि हो, त्यसका लागि पत्रकारितामार्फत खबरदारी र निगरानी बढाउनुपर्छ’ उनले भने । उनले स्थानीयस्तरको विकास निर्माणको जिम्मेबारी स्थानीय तहलाई भएकोले स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिनुपर्ने बताए । जनप्रतिनिधिले गलत काम गर्न नहुने र जनप्रतिनिधिले गरेका राम्रो कामलाई राज्यका कुनैपनि निकायले हस्तक्षेप गर्न नहुने भनाई गाउँपालिका अध्यक्ष मल्लको रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पत्रकारितामार्फत मुलुकमा भएका सबै नकारात्मक कामलाई सुधार गर्नसक्ने क्षमता भएकोले त्यसतर्फ पत्रकारिता सचेत भएर लाग्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले नेपाली पत्रकारिताको लामो इतिहासबाट पाठ सिकेर सबै किसिमका बेथितिको अन्त्य गर्न पत्रकारिताको आवश्यकता भएको धारणा राखे ।
नेपाली पत्रकारिताले सबै किसिमका परिवर्तनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको र नयाँ ब्यवस्थाको संस्थागत गर्न तथा मुलुकको थिति बसाल्नका लागि पत्रकारिताको काधमा जिम्मेबारी रहेको पनि बताए । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, पर्वतका सचिव गणेश गिरी, सदस्य देवराज पुरीलगायतले बोलेका थिए ।









