Print

गुर्ड नेवर्सका कारण लिमिठानाको कफी विक्री भएन

५ माघ, पर्वत । गैर सरकारी संस्था सोडेर्क नेपाल मार्फत आयआर्जनमा सहयोग गर्दै आएको गुर्ड नेवर्सका कारण कृषकको कफी विक्रीमा समस्या परेको छ । साझेदार संस्था मार्फत आय आर्जनको क्षेत्रमा सहयोग गर्दै आएको अन्तराष्ट्रिय गैर सरकारी संस्थाले समन्वयकारी भूमिका नखेल्दा कृषकको कफी विक्रीमा समस्या परेको हो ।

कृषकले गाउँमा उत्पादन गरेको झण्डै २ क्यून्टल भन्दा बढि कफी बोटमै खेर गएको कृषकहरुको भनाई छ । कफी सहकारी संघकी सचिव जानुका पन्तले कफी विक्री गर्ने क्रेता नपाउँदो गाउँभरीका कफीहरु बोटबाटै झर्न थालेको बताउँछिन । गत बर्षसम्म जिल्ला कफी सहकारी संघले किन्दै आएपनि यो बर्ष सहकारीले कफी विक्री नभएको भन्दै यो बर्ष गाउँबाट कफी खरिद नगर्ने भएपछि उनीहरु मर्कामा परेका हुन ।

गाउँमा उत्पादन भएका सवै कफी विक्री हुँदा बार्षिक लाखौ रकम गाउँमा भित्रन्छ । तर कफी बजारसंग कृषकको प्रत्यक्ष सम्पर्क नभएका कारण उनीहरुको कफी बोटमै झरेर गएको छ । जिल्लामा उत्पादनमुखी ब्यवसायहरुमा कृषकहरु दिन प्रतिदिन आकर्षित हुँदैछन । तर उनीहरुको उत्पादनले बजार नपाउँदा कृषकहरु कृषिकर्मबाट विस्थापीत हुने क्रम पनि उत्तिकै मात्रामा देख्न सकिन्छ । जिल्ला कफी सहकारी संघले गुर्ड नेवर्स नामक संस्थाले आय आर्जनको नाउँमा समन्वय विना नै गाउँ गाउँमा कार्यक्रम सञ्चालन गर्दै हिडेकोले कफी बिक्रीमा तदारुकता नदेखाएको हो ।

सहकारीको खर्च ब्यवस्थापन देखि घुम्ति कोषको समेत रकम गाउँमा बाड्ेपनि गैससको भूमिका गाउँमा निस्प्रभावी भएकाले उत्पादन भएका सामाग्रीहरुको विक्रीमा समस्या परेको देखिन्छ । धर्म प्रचारको आरोप खेपेको गूर्ड नेवर्स नामक अन्तराष्ट्रिय संस्थाको समन्वयकारी भूमिका नहुँदा गाउँको कफि विक्रीमा समस्या परेको स्वयम् कृषकहरुको भनाई छ ।

गत बर्ष गाउँबाट बिक्रीका लागि सहकारी संघमा कफी ल्याएपनि बजारको अभावमा बिक्री नभएको जिल्ला कफी सहकारी संघका अध्यक्ष भवानीप्रसाद शर्मा बताउँछन । गाउँमा आय आर्जनमा सहयोग गर्ने गरेको संस्थाले बजारीकरणमा भने वास्ता नगरेका कारण पनि लिमिठानाको कफी विक्रीमा समस्या रहेको शर्माको भनाई छ । लोकतान्त्रिक गैससका अध्यक्ष गणेश क्षेत्रीले जिल्लाका अन्य गैससहरुसंग समन्वयन नै नगरि अपारदर्शीतापूर्वक कार्यक्रमहरु सञ्चालन गरेका कारण पनि गुर्ड नेवर्स संस्थाप्रति जिल्लामा पटक पटक प्रश्न उठ्ने गरेको बताउँछन । क्षेत्रीले स्थानीय कानून, नियम र संगठनहरुको भूमिका गौण बनाउँदै काम गर्ने परिपाटीले कृषकहरु समेत मर्कामा परेको दावी गरे ।