Print

कालीगण्डकीमा स्टिमर सेवा पुनः सञ्चालन

७ कार्तिक, पर्वत ।  मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) पुनः सञ्चालन भएको छ। चाडबाड सकिएलगत्तै नदीमा पानीको बहाव घट्दै गएकाले सोमबारदेखि उक्त सेवा पुनः सञ्चालन गरिएको हो। वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असार पहिलो सातादेखि ठप्प स्टिमर सेवा सोमबारदेखि सञ्चालनमा ल्याइएको बिहादी गाउँपालिका ६ शालिग्रामकी सचिव सुनकुमारी भट्टराईले जानकारी दिइन्। जल यातायात सेवा सञ्चालन भएपछि पर्वत, स्याङ्जा र गुल्मीका ग्रामीण क्षेत्रका बासिन्दा यातायात सुविधाबाट लाभान्वित बनेका छन्। खासगरी चाडबाड मनाउन गाउँ आएकालाई फर्कन बढी सहज भएको उनले बताइन्।

१७ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन भएपछि दर्जनौ गाविसका बासिन्दाले नौ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन्। वर्षात्को समयमा भने दुर्घटना बढ्ने खतराका कारण तीन महिना अवरुद्ध हुने गरेको छ। दक्षिण पर्वतको बिहादी गाउँपालिका ६ शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करिब सात किलोमिटर दूरीमा जल यातायात सञ्चालन भएपछि पर्वतका दक्षिणतर्फका भेग र गुल्मी, स्याङ्जा एवं दक्षिण बागलुङका केही गाविस गरी साविकका ३० भन्दा बढी गाविसलाई सहज यात्रा र मालसामान ओसारपसार गर्न सहज भएको छ। यातयातको पहुँच नभएका तीनवटै जिल्लाका ती गाविसमा स्टिमर सेवा वरदान साबित भएको छ।

वर्षायाममा तीन महिना भने सास्ती खेप्नुपरेको व्यवसायी विष्णु न्यौपानेले जानकारी दिए। ‘पानीको सतह घटेपछि मात्र सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘अहिले नियमित ११ वटा स्टिमरबाट यहाँका बासिन्दा ओहोरदोहोर गरिरहेका छन्। यातायात सुरु भएपछि यहाँको चार घण्टाको बाटो आधा घण्टामै छोटिएको छ।’ स्टिमर व्यवसायी हरिप्रसाद भट्टराईका अनुसार यातायात अवरुद्ध हुँदा दैनिक चार घण्टा पैदल हिँड्न स्याङ्जा मिर्मीका बासिन्दा बाध्य थिए।

उक्त जलाशयमा स्टिमर सेवा सञ्चालन भएपछि स्थानीयले हिउँदमा सस्तोमै मालसामान ढुवानी गर्न पाएका छन्। यहाँको एक मात्र भरपर्दो यातयात सेवाका रूपमा रहेको स्टिमरले उक्त क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ। पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेहरूका लागि अहिले त्यही जलाशय वरदान बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए। स्टिमरमा स्थानीय ३० जनाभन्दा बढीले प्रत्यक्ष र सयौंले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

पहिले डुंगा र साना स्टिमर भए पनि अहिले मालवाहक ट्रकको इन्जिन र जिपका इन्जिन राखेर सञ्चालन गरिँदै आएको कालीगण्डकी जल यातायात समितिका सचिव हरिप्रसाद भट्टराईले जानकारी दिए। यसले मालवाहक ट्रकको जस्तै क्षमता राख्छ। २०५७ सालदेखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको उनले बताए। स्टिमरबाट दैनिक एक हजारभन्दा बढी ओहोरदोहोर गर्ने गरेको व्यवसायी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक ११ वटा स्टिमर चलाएर सेवा पुर्‍याएका छौं’, उनले भने।

बर्खाको तुलनामा हिउँदमा यात्रुको चाप बढी हुने गरेको उनले बताए। एउटा स्टिमरबाट एकपटकमा एक सय ५० जनासम्म यात्रु ओहोरदोहोर गर्न मिल्छ। यसबाट व्यवसायीलाई समेत फाइदा पुगेको भट्टराईको भनाइ छ। सेतीवेणीबाट जलयात्रा सुरु गरी मिर्मीमा पुगेर बसमार्फत यस क्षेत्रका बासिन्दा गन्तव्यमा पुग्ने गरेका छन्। स्टिमरबाट यात्रा गर्ने धेरैजसो आन्तरिक पर्यटक छन्।

विश्वकै ठूलो शालिग्राम शिलासमेत सोही स्थानमा पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकसमेत स्टिमर चढेर आउने गरेको  खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ ।