Print

पानीको बहाव घट्यो, शुरु भयो कालीगण्डकी नदीमा र्याफ्टिङ

२० असोज, पर्वत । नदीमा पानीको बहाव घटेसँगै कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ) सुरु भएको छ । गत जेठ अन्तिम सातादेखि बन्द भएको र्याफ्टिङका लागि पर्यटकहरू आउने क्रम सुरु भएको छ । अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरको अन्त्य सम्म सञ्चालन हुने गरी र्याफ्टिङ सुरु भएको हो । वर्षाको समाप्तीसँगै असोजको पहिलो सातादेखि जलयात्रामा पर्यटक आउने क्रम सुरु भएको छ ।

छोटो र पारिवारीक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्वीसा र्याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम् कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाब भएकाले बिदेशी नागरिकहरू अन्य नदीहरू भन्दा कालीगण्डकीलाई नै रोज्ने  गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको आकर्षण बढ्दै गएको छ ।

कालीगण्डकी नदीमा अहिले दैनिक दुई÷तीन समुहमा पर्यटकहरू आउने गरेका छन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकहरूको आगमन बढेको रेग्मीको भनाइ छ । “यो नदीलाई रोजेर पर्यटकहरू बढी नै आउने गरेका छन्, कालीगण्डकीलाई र्याफ्टिङको पहिलो गन्तब्य बन्दै गएको छ,” उनले भने । पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकहरू बढ्दै गएको व्यवसायीले बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखिबाट सुरु हुने र्याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन भने अस्टेूलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

विदेशमा समेत जलयात्रा गर्दै आएका पर्यटकहरू नेपालको जलयात्रा अन्यत्रको भन्दा अत्यन्त रोमाञ्चक हुने गरेको अनुभव सुनाउँछन् । कालीगण्डकीको जलयात्रा बिश्वका अन्य नदीमा भन्दा रोमाञ्चक हुने गरेको उनीहरूको भनाइ छ ।

अमेरिका र अष्ट्रेलियालगायतका नदीहरूमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ खालको अनुभव भएकाले पर्यटकहरूको आकर्षण बन्न पुगेको हो । पर्वतमा र्याफ्टिङ सञ्चालन गर्ने व्यवसायी नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यावसायीहरूको सहयोगमा पर्यटकहरू र्याफ्टिङका लागि कालीगण्डकी नदीमा आउने गर्छन् ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरू प्रभावित हुने पर्यटन व्यवसायीहरू बताउँछन् । कालीगण्डकीमा जलयात्राका लागि गन्तव्य स्थल बनाउनका लागि केही पूर्वाधारहरूको व्यवस्था गर्न समेत पर्यटन व्यावसायीहरूको आग्रह छ ।

पर्यटकका लागि लोकप्रिय बनेको र्याफ्टिङका लागि भएका पूर्वाधारहरू बिग्रदै्र जाँदा समस्या आउने गरेको गाइडहरू बताउँछन् । नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटकहरू यात्रा तय गर्ने गरेका छन् ।

यात्राको क्रममा बस्ने ठाउँहरूमा भौतिक संरचनाको विकास गर्न र कुस्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुंगाहरू नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताए ।