१२ भदौ, पर्वत । जिल्लाको सुरक्षा ब्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीसंग जनताका अनेकन अपेक्षा हुन्छन । शान्ति, सुरक्षा र अमन चयन कायम गर्ने पहिलो दायित्व नेपाल प्रहरीको हुने भएकाले प्रहरी जनताको पहिलो साथी पनि हो । सानो जिल्ला भईकन पर्वत जिल्लामा सुरक्षा प्रत्याभूति र त्यसको ब्यवस्थापन भने कठिन जस्तै पनि छ । साविक धौलागिरी अञ्चलको प्रमुख नाकाको रुपमा रहेको पर्वतमा प्रहरी प्रशासनले कठिन खालका सुरक्षा चुनौतिहरु झेल्दै आएको छ ।
एकातर्फ, राजनैतिक हस्तक्षेपका कारण पर्वतका अधिकांश प्रहरी प्रमुखहरुले असफलताको पगरी भिरेर गए भने, केहि सुरक्षा प्रमुखहरु जनताको वाहीवाही कमाएर गए । बर्षेनी जसो जिल्लामा सुरक्षा प्रमुखहरु बदलिने प्रचलनको निरन्तरताका साथ जिल्लाको प्रहरी प्रमुख भएर भरखरै आएका प्रहरी नायव उपरिक्षक डिलिप घिमिरे सामू सोमबार पर्वतका पत्रकारहरुले गुुनासा र र जिज्ञासाका चाङहरु प्रस्तुत गरे ।
प्रहरी कार्यालयद्धारा आयोजीत परिचात्मक कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुले सुरक्षा संवेदनशिता उच्च रहेको पर्वतमा सिमित ब्यक्तिहरुको आडमा चल्ने सुरक्षा प्रशासनले कमाएको विख्यातीलाई निरन्तरता नदिन अनुरोध गरे ।
पत्रकार गणेश पौडेलले कालीगण्डकी नदी माथि हुने दमनको रमिते बनिरहने प्रशासकलाई नागरिकले सम्मान नगर्ने भन्दै नदी जन्य बस्तु उत्खनन नियन्त्रण गर्न सक्रिय रहन प्रहरी प्रमुखलाई सुझाब दिए । प्रहरी प्रमुख सामू सिमित ब्यक्तिहरुका मधुरसले दोषि नभएकाले पनि सजाय पाउँदै आएको पर्वतको प्रचलनलाई नदोहोराउन अनुरोध गर्दै पत्रकार वैकुष्ठ गिरीले जनताको सम्मान पाउने वा विरोध कमाउने प्रहरी प्रमुखको हातमा रहेको स्पष्ट पारे । केहि प्रहरी प्रमुखलाई राजनैतिक दलको कार्यालयबाट बाजा बजाएर विदा गरिएको र केहि प्रमुख जनताको सम्मानबाट विदा हुने गरेको इतिहास देखाउदै उनले सुरक्षा प्रत्याभूति प्रहरीको पहिलो दायित्व रहेको बताए ।
पत्रकार सञ्जय रेग्मी, छवि तिवारी र लक्ष्णमण सापकोटाले अस्तब्यस्त बन्दै गएको ट्राफीक ब्यवस्थापन प्रति चिन्ता ब्यक्त गरे । सदरमुकाम कुश्मा बजार क्षेत्रमा चल्ने द्रुत गतिका मोटरसाइकल, विना लाइसेन्सका सवारी चालक र कच्चि सडकमा क्षमता भन्दा बढि यात्रु बोक्ने सवारीहरु माथि कडा निगरानी राख्न अनुरोध गरे । परिचयात्मक अन्तरक्रिया कार्यक्रममा पत्रकार दुर्गाप्रसाद शर्मा, सन्तोष थापा र प्रनिश गिरीले जनताले अनुभूति गर्ने गरी सुरक्षा ब्यवस्थापन गर्ने दायित्व प्रहरीले भुल्न नहुने बताए ।
प्रहरी नायव उपरिक्षक गंगा पन्तले शुरुवात गरेको महिला हिंसा न्यूनिकरणलाई निरन्तरता दिन अनुरोध गर्दै हिंसा पिडितका लागि निर्माण शुरु गरिएको सुरक्षित घर निर्माणमा प्रहरीले कम चासो देखाएको भन्दै पत्रकार माया अधिकारीले त्यसलाई निरन्तरता दिन अनुरोध गरिन । पत्रकारहरुले जिल्लामा पछिल्लो दिनमा आत्महत्याका घटना बढिरहेका कारण घरेलु हिंसा न्यूनिकरण र घरेलु मदिरा नियन्त्रणमा प्रहरी सधै चनासो रहनुपर्ने बताएका थिए । धौलागिरी क्षेत्र भित्रने र बाहिरिने प्रमुख नाका भएकाले लागू पदार्थ ओसार पोसारको ट्रान्जिट प्वाइट पर्वत बनिरहेको बताउँदै लागू औषध नियन्त्रणमा हालसम्म पर्वत प्रहरीले ठूलो सफलता नपाउनु दुःखत रहेको पत्रकारहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल प्रहरीले दिएको लक्ष्यहरु पुरा गर्नु आफ्नो पहिलो दायित्व रहेको बताउदै जिज्ञासाहरुरको उत्तरमा प्रहरी प्रमुख घिमिरेले जिल्लाको लागि आफूसंग ठोस योजनाहरु नभए पनि सुझाबका आधारमा आफू अगाडि बढ्ने बताए । उनले जिल्लामा नदीजन्य वस्तु उत्खनन ठूलो समस्याको रुपमा आफूले लिएको बताउँदै नियमानुसार प्रशासन कार्यालयसंग समन्वय गरेर मात्रै आफू अगाडि बढ्ने बताए । उनले एक्लो प्रयासले सफलता प्राप्त हुन नसक्ने भन्दै पत्रकार र नागरिक समाजको सहयोग आफूलाई हुने विश्वास ब्यक्त गरे । अपराध न्यूनिकरणमा नेपाल प्रहरीको लक्ष्यमा आफ्नो महत्वपूर्ण भूमिका रहने भन्दै घिमिरेले समिक्षात्मक र अन्तरक्रिया गर्दै योजना निर्माण गर्ने गरी आफू लागि पर्ने बताए । परिचात्मक कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक लिलाराज लामिछानेले गरेका थिए ।




