१२ भदौ, पर्वत । पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरको रणबाङस्थित सहस्रधारामा शुक्रबार राति एक मजदुरले हँसियाले हानेर साथीको हत्या गरेका छन् ।
सहस्रधारास्थित निर्माणाधीन मालिका बोर्डिङ स्कुलमा लेबर काम गर्ने ताप्लेजुङ घरभई अहिले जलजला गाउँपालिका–३ पर्वत बेनी बस्ने ४७ वर्षका सुमन खड्कालाई सँगै लेबर काम गर्ने चितवन सारदानगर-८ बस्ने ३० वर्षका अशोक तामाङले हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
हँसिया प्रहारबाट घटनास्थलमै खड्काको ज्यान गएको थियो । शनिबार बिहान मात्रै बोर्डिङ स्कुलका प्रिन्सिपलले शव देखेपछि इलाका प्रहरी कार्यालय दरबाङमा टेलिफोनमार्फत खबर गरेको प्रहरीले जनाएको छ । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षकको नेतृत्वमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगी हत्यामा संलग्न तामाङलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप अनुसन्धान टोली घटनास्थल पुगी अनुसन्धान कार्यमा खटिएको उहाँले जानकारी दिनुभएको छ ।




