१६ श्रावण, पर्वत । यहाँकी एक युवतीलाई सिंगापुरमा रोजगारी लगाइदिने भन्दै ४ लाख लिएर पर्वत, कुस्माकी निसा खातुनले असार १ गते काठमाडौं पुर्याइन् ।
१५ दिन त्यहाँ राखेपछि निसाले जहाजको सीधा उडानको टिकट नपाएको भन्दै दिल्ली गएर उडाइदिने बहाना बनाइन्। दिल्लीको होटल स्विट ड्रिममा बन्धक बनाइएपछि भने युवतीले आफूलाई बिक्री गरिएको थाहा पाइन् । उनले होटलको पार्सवर्ड प्रयोग गरेर इन्टरनेटमा भारतमा रहेका पत्रकार करिम बकसलाई खबर गरिन्। करिमले शान्ति पुन:स्थापना केन्द्र कपिलवस्तुका जिल्ला संयोजक भूमिराज भट्टराईलाई खबर गरिदिए। दिल्लीस्थित हेल्प ट्रस्ट नामक संस्थाको सहयोगमा भारतीय प्रहरीले होटलमा छापा मार्यो। गत मंगलबार (साउन १०) प्रहरीले होटलका नेपालीभाषी मेनेजर पवन तामाङलाई पक्राउ गर्यो। उद्धारपछि भारतस्थित नेपाली राजदूतावासको सहयोगमा पीडितलाई नेपाल ल्याइएको छ।
उनले आइतबार प्रमुख जिल्ला अधिकारी रीतेशकुमार शाक्यलाई घटनाबारे जानकारी गराउनुका साथै प्रहरीमा पीडकविरुद्ध किटानी जाहेरी दिएकी छन्। अभियुक्त रहेको आशंकामा दुलेगौंडा पुगेर खोजी गरेको प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।




