२४ भदाैं, पर्वत — भोटेकोशीमा आएको विनाशकारी बाढी, लगातारको वर्षात्, बाढी–पहिरो तथा काठमाडौं–मुग्लिन सडकखण्डमा देखिएको अवरोधका कारण पर्वतको कुश्मामा पर्यटक आगमनमा गिरावट आएको छ। पछिल्लो समय कुश्मामा आउने पर्यटकको संख्या घटेसँगै यहाँका होटल तथा रिसोर्ट व्यवसायसमेत प्रभावित भएका छन्।
पर्यटकीय गतिविधिका लागि चर्चित कुश्मामा विशेषगरी साहसिक पर्यटनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या वर्षायामसँगै घटेको व्यवसायीहरू बताउँछन्। भोटेकोशी बाढीपछि देशका विभिन्न स्थानमा भएको क्षति, सडक अवरोध र यात्रा असुरक्षित हुने चिन्ताले पर्यटकको आवागमनमा थप असर परेको उनीहरूको भनाइ छ।
कुश्माका विभिन्न रिसोर्ट तथा होटलमा यसअघि भएका बुकिङसमेत क्यान्सिल हुन थालेका छन्। नयाँ बुकिङको क्रम भने निकै सुस्त रहेको व्यवसायीहरू बताउँछन्। केही रिसोर्टमा आगामी दिनका लागि गरिएका समूहगत बुकिङसमेत सडक तथा मौसमको अवस्थालाई कारण देखाउँदै रद्द भएका छन्।
लगातारको वर्षात् र ठाउँ–ठाउँमा हुने पहिरोका कारण लामो दूरीको यात्रा प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर कुश्माको पर्यटनमा परेको व्यवसायीहरूको भनाइ छ। विशेषगरी काठमाडौंसहित देशका विभिन्न शहरबाट कुश्मा घुम्न आउने पर्यटक सडकको अवस्था र मौसम हेरेर यात्रा स्थगित गर्ने गरेका छन्।
कुश्मामा बञ्जी, झोलुङ्गे पुल, रिसोर्ट तथा अन्य पर्यटकीय गतिविधिका कारण पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको थियो। तर वर्षात्को मौसम, प्राकृतिक विपद् र सडक अवरोधका कारण अहिले पर्यटन व्यवसायले अपेक्षाकृत गति लिन सकेको छैन।
व्यवसायीहरूले सडकको अवस्था सहज हुनुका साथै मौसममा सुधार आएपछि पर्यटकको आवागमन पुनः बढ्ने अपेक्षा गरेका छन्। पर्यटन क्षेत्रलाई चलायमान बनाउन सडक सुरक्षा, नियमित यातायात सञ्चालन तथा पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने उनीहरूको भनाइ छ।




