Print

विहादीमा आगामी आवमा थप २ करोड १६ लाखको हाइटेक टनेल वितरण गरिने

२६ जेठ, पर्वत । विहादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा करिब २ करोड १६ लाख रुपैयाँ बराबरका हाइटेक टनेल वितरण गर्ने भएको छ। गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको आयस्तर सुधार गर्ने उद्देश्यसहित उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

गाउँपालिकाका अनुसार हाइटेक टनेल वितरण कार्यक्रममार्फत किसानलाई वर्षभरि गुणस्तरीय तथा विषादीरहित अर्गानिक तरकारी उत्पादन गर्न प्रोत्साहन गरिनेछ। यस कार्यक्रमले विहादीलाई अर्गानिक तरकारी उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

हाइटेक टनेलको प्रयोगबाट मौसमजन्य जोखिम न्यूनीकरण हुनुका साथै उत्पादन लागत घट्ने र उत्पादन वृद्धि हुने विश्वास गरिएको छ। गाउँपालिकाले टनेल वितरणसँगै किसानलाई आवश्यक प्राविधिक सहयोग, तालिम तथा बजार व्यवस्थापनमा समेत सहजीकरण गर्ने जनाएको छ।

विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले कृषि क्षेत्रलाई गाउँपालिकाको आर्थिक समृद्धिको मुख्य आधारका रूपमा विकास गर्न खोजिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य किसानको जीवनस्तर उकास्नु हो। हाइटेक टनेल वितरण कार्यक्रमले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्नेछ र अर्गानिक उत्पादनलाई थप प्रोत्साहन गर्नेछ। यसले विहादी गाउँपालिकालाई ताजा तथा विषादीरहित तरकारी उत्पादनको केन्द्र बनाउने हाम्रो अभियानलाई सार्थक बनाउनेछ।”

गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादनमुखी तथा किसानमैत्री कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता दिने जनाएको छ। स्थानीय कृषकहरूले समेत हाइटेक टनेल कार्यक्रमले व्यावसायिक खेती विस्तार गर्न र आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।