२४ जेठ, पर्वत । जिल्लाको फलेवास नगरपालिकाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । फलेवास नगरपालिका वडा न २ थापाठानामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाले गत आर्थिक बर्षमा सम्पन्न गरेका कार्यक्रमहरुको समिक्षा सहित चालु आर्थिक बर्षमा सञ्चालीत कार्यक्रमहरुको सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । नगरपालिकाले खासगरी वडा न २ वडाबाट प्रवाह भएका सेवा तथा आयोजनाहरु तथा नगरपालिकाले प्रवाह गरेका सेवा तथा आयोजना, कार्यक्रमहरुका विषयमा सेवाग्राहीको प्रतिक्रिया लिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नगर प्रमुख गंगाधर तिवारीले नगरपालिकाका सवै विकास निर्माणको काममा नगरबासीको सकारात्मक साथ र सहयोग मिलेको बताए । उनले नगरबासीकै सुझाब र सल्लाहका आधारमा नगरपालिकाले भावि कार्यक्रमहरु, योजनाहरु र नीतिहरु तय गर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद आचार्य, शिक्षा शाखा प्रमुख कृष्णप्रसाद आचार्य, योजना शाखा प्रमुख प्रकाश लम्साल, स्वास्थ्य शाखा प्रमुख रुद्रप्रसाद शर्मा, पशु सेवा केन्द्रका युवराज मरासिनी लगाएतले सहभागीले उठाएका विषयहरुको उत्तर दिएका थिए ।
वडाअध्यक्ष गंगानारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जि एण्ड जि मिडियाका प्रवन्ध निर्देशक गणेश गिरीले गरेका थिए ।




