Print

कुश्मामा उत्कृष्ट बुहारीलाई सम्मान गरिने


१९ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवाले उत्कृष्ट बुहारी सम्मान कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक स्विकृत कार्यक्रम अनुसार वडाभित्र रहेका उत्कृष्ट बुहारीलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

वडाअध्यक्ष सुरेन्द्र केसीले एक सुचना जारी गर्दै उत्कृष्ट बुहारीलाई सम्मान गरिने जानकारी गराएका छन् । अध्यक्ष केसीले वडा भित्र रहेका बुहारी मध्ये उत्कृष्ट बुहारी छनौट गरी सम्मान गरिने जनाएका छन् । वडा भित्र रहेका बुहारी मध्ये विगत लामो समय देखि आफ्ना एकाघरका सासु ससुरा तथा बृद्ध अवस्थामा रहेका ब्यक्तिलाई मर्यादित तथा अनुशासित ढंगबाट स्याहार सुसार गरेको बुहारीलाई सम्मान गरिनेछ ।

यसैगरी बृद्ध अवस्थामा नरहेका तर कडा रोग लागेका साथै शारीरिक अपांगताका कारण हिडडुल गर्न तथा अन्य कृयाकलाप गर्न नसक्ने एकाघरका सासु ससुरा तथा अन्य सदस्यहरुलाइ मर्यादित तथा अनुशासित ढंगबाट रेखदेख तथा सुसार गर्ने बुहारीलाई सम्मान गरिनेछ ।

पारिवारिक, सामाजिक मेलमिलापनमा रहेको सभ्य, अनुशासित र मर्यादित बुहारीलाई वडाले प्राथमिकता दिने वडाअध्यक्ष केसीले उल्लेख गरेका छन् ।

आफूलाई योग्य लागेका बुहारीले वडा कार्यालयमा सम्मानका लागि निवेदन दिनुपर्ने वडाकार्यालयद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।