१८ जेठ, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ, बर्राचौर । केहि समथर भूभाग र केहि अग्ला डाडाँमा बर्राचौरको बस्ती छ । कालीगण्डकी लोकमार्ग बस्ती वीचबाट गएको छ । उत्तर दक्षिण जोड्ने लोकमार्ग छेउका वस्तीहरु भने अझै पनि सुख्खा–सुख्खा छन् । उब्जनी, उत्पादनको प्रचुर सम्भावना बोकेको बर्राचौरबासीका पिडा भने आफ्नै छन् ।
स्थानीय यादव गिरी भन्छन्–‘गाउँमै बस्ने मन छ, तर खानेपानी छैन ।’ बुटबलमा घर बनाए पनि गाउँको मायाले गाउँमै बसीरहेका गिरीले थपे– गाउँमा खानेपानीको समस्या छ, बाँदरको आतंक छ । अर्का स्थानीय रामप्रसाद पराजुलीले खानेपानीको आयोजना सुचारु नहुँदा गाउँमा बस्ने वातावरण नभएको बताउँछन् । मानबहादुर कुँवरले दुःखभावमा भने–खानेपानी नहुँदा बसाईसराईको दर अझै बढ्नेछ ।
गाउँमा बस्यो खानेपानी छैन् । खेती लगायो, बाँदरले खान्छ । यस्तै यस्तै दुःखका वीच पिल्सीएका छन् बर्राचौरबासी । विहिबार वडा कार्यालयमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रमका बत्ताहरुले गाउँको बारेमा गहिरो चिन्ता गरे । “उनीहरुको माग थियो, पहिला खानेपानी चाहियो ।” पानी नहुँदा दैनिक ठूलो हैरानी र सास्ती बेहोर्न परेको पिडा उनीहरुले वडाका प्रतिनिधिलाई सुनाए ।
वडाअध्यक्ष गणेश शर्मा पौडेल स्वय्मले पनि गाउँमा खानेपानीको चरम अभाव भएको उल्लेख गरे । सरकारले खानेपानीको लागि आयोजना शुरु गरे पनि ति आयोजना अझै पुरा भएका छैनन् । लिप्टिङ खानेपानीको योजना छ, तर बजेट छैन् । स्थानीय हरी पराजुलीले भने–खानेपानीको ट्याङकी बनेका छन्, तर पानी नहुँदा ति ट्याङकी फुट्न लागे ।
सरकारले ठूलो धनराशी विभिन्न शीर्षकमा खर्च गर्छ,, तर खानेपानीको अभाव भएका स्थानमा अझै पनि सरकारले माग बमोजीमको बजेट हाल्न सकिरहेको छैन् । पछिल्लो समय यो क्षेत्रमा बसाईसराईको दर उच्च छ ।
विहादी गाउँपालिकाका बरौचौर, रानीपानी र शालिग्राम खानेपानीको चरम अभाव भएका स्थानहरु हुन् । ति गाउँहरुमा खानेपानी खुवाउनका लागि शुरु भएका आयोजनाहरु काम शुरु भएको बर्षौसम्म पनि पुरा भएका छैनन् ।




