२५ मंसिर, पर्वत । आगामी राष्ट्रिय सभा निर्वाचनमा पर्वतका अर्जुन जोशीले दावी नगर्ने भएका छन् । गण्डकी प्रदेशमा २ जना सदस्य आगामी माघ महिनामा हुने निर्वाचनमा निर्वाचित हुँदैछन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका जोशीले यस पटकको राष्ट्रिय सभामा दावी नगर्ने बताएका छन् । ‘यस पटकको चुनावी रेसमा म छैन’ जोशीले भने– अर्को पटक हुने निर्वाचनमा स्वभाविक रुपमा म सर्वसहमत उमेदवार बन्नेछु ।’
राष्ट्रिय सभा सदस्यको उमेदवारको रुपमा चर्चा रहनसक्ने जोशी गण्डकी प्रदेशमा नेपाली कांग्रेस भित्र सिनियर नेता पर्दछन् । जोशी भन्दा उपल्लो बरियतामा रहेका गोपालमान श्रेष्ठले यस पटक दावी गरेका कारण जोशीले आफू चुनावी रेसमा नभएको बताए । उनले आफू भन्दा सवै सिनियर र पाटिमा दुःख पाएका नेताहरुलाई यसपटक निर्वाचनमा अवसर दिएर आफ्नो दाबी नभएको बताईसकेका छन । पर्वत जिल्लामा ३ पटकसम्म प्रतिनिधि सभामा निर्वाचन जितेका जोशी नेपाली कांग्रेसमा पटक पटक केन्द्रिय सदस्य समेत भईसकेका नेता हुन् ।
कांग्रेसको गण्डकी प्रदेश कमिटिमा पराजय भएका जोशी गत बर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पनि पर्वत जिल्लाबाट पराजय भएका थिए । कांग्रेसले भरखरै मात्र केन्द्रिय कमिटिमा जोशीलाई मनोनित गरेको छ । राष्ट्रिय सभाको निर्वाचनमा जोशीलाई आकाक्षीको रुपमा हेरिए पनि उनले भने अर्को पटक दाबी रहने गरी यस पटक दाबी छोडेको बताए । आगामी फागुन २० गते देखि गण्डकी प्रदेशबाट गणेश प्रसाद तिमिल्सीना र दिपा गुरुङको सदस्य पद खाली हुँदैछ । ६ बर्ष अवधि पुगेका कारण राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना र सदस्य गुरुङको पद खाली हुन लागेको हो ।
कांग्रेसबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र महालक्ष्मी उपाध्याय डिनाले सदस्यका आकांक्षी देखिएका छन् । यी चार जनामध्ये श्रेष्ठ र सिटौलाले राष्ट्रिय सभाको अध्यक्ष पनि हुनुपर्ने भन्दै लबिङ थालेका छन् । अध्यक्षका आकांक्षी देखिएका सहमहामन्त्री मन्सुरले यी दुई नेताले मध्ये कोही भए आफूले अध्यक्षको दाबी नगर्ने जनाएका छन् ।
कांग्रेसबाटै पार्टीका सभापति शेरबहादुर देउवाका पूर्वपरराष्ट्र सल्लाहका अरुण सुवेदी, उद्योगी अनिल रुङटा, आनन्द ढुंगाना, बालकृष्ण पाण्डे, अब्दुल सतार, कलाकारसमेत रहेका निर शाह सदस्यका लागि दौडधुपमा रहेका छन् ।
कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा रहेका श्रेष्ठ, ढुंगाना, पाण्डे र सतारले आफ्नो नाम पार्टीबाट निर्णय गराई फिर्ता लिइसकेका छन् । राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुनैका लागि उनीहरूले आफ्नो नाम फिर्ता लिएका थिए ।
यसैगरी, कांग्रेसबाट केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाई, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बाँस्कोटा, बद्रीनारायण चौधरी, दीपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत, कल्याण गुरुङ, रामकुमार चौधरी, अजय चौरसिया, मनमोहन भट्टराई, कृष्ण अमात्य, तीर्थ पसरवल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडालगायतका नेता आकांक्षी रहेका छन् । यी नेता सदस्य हुन दौडधुपमा छन् ।




