Print

वर्तमान सरकारका कारण देश असफल राष्ट्र हुने खतरामा छ : ओली


२२ मंसिर, पर्वत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारका कारण देश असफल राष्ट्र हुने खतरामा परेको बताएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल राष्ट्र हुने दिसामा अघि बढेको बताएका हुन् । सरकारले आर्थिक अवस्था विग्रदै जाँदा पनि त्यसको रोकथाममा कुनै पहल नगरेको ओलीले आरोप लगाए ।

ओलीले भने–‘सरकारले तलब खुवाउन पनि ऋण मागिरहेको छ ।’ देशमा विकास आयोजनाहरु बन्द भएको उल्लेख ओलीले सामान्य प्रशासनीय खर्च धान्न नसक्ने गरी देशलाई वर्तमान गठबन्धन सरकारले देशलाई टाट पल्टाएको दावी गरे ।
ओलीले सरकार गलत बाटोमा हिडिरहेको भन्दै आलोचना गरे । उनले आफ्नो पालामा शुरु भएका सवै विकास निर्माणका कामहरु अहिले बन्द भएको समेत बताए ।

मध्यपहाडी लोकमार्गमा सम्बृद्धिका लागि संकल्प यात्रा शुरु गरेको एमालेले आठौं दिन कुश्मामा जनसभा सम्पन्न गरेको हो । जनसभामा एमालेको केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो । एमालेले जनसभा अघि झाकी सहित कुश्मा बजारका विभिन्न ठाउँबाट रयाली निकालेको थियो ।

एमाले केन्द्रिय सदस्य पदम गिरीले पर्वत जिल्लामा आवश्यक विकास आयोजनाहरुको बिषयमा ओली लगाएतका नेताहरुलाई जानकारी गराएका थिए । पर्वत जिल्ला सचिव गोविन्द पहाडीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्माले स्वागत गरेका थिए ।