२१ मंसिर, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले कोभिड १९ का कारण पर्वत जिल्लाका आयोजनाहरु अलपत्र परेको बताएका छन् । बुधवार मोदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीताको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले यस्तो बताएका हुन् ।
विकास आयोजनाहरु अघि बढिरहेको बेलामा कोभिड शुरु भएपछि त्यसले असर गरेको तिमिल्सीनाको दावी छ । उनले जिल्लामा छोटो अवधिमा १ सय किलोमिटर सडक कालोपत्रे भएको उल्लेख गर्दै अरु आयोजनाहरु भने अहिले प्रभावित भएको बताए ।
मोदी गाउँपालिकाको तिलाहारमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सीनाले देश बनाउन सवैजना मिल्नुपर्ने भन्दै आर्थिक मन्दिका कारण सुस्ताएका आयोजनाहरुले छिट्टै गति लिने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा संविधान सभाका सदस्य कल्पना चापागाई, प्रदेश सभा सदस्य भक्त कुँवर, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, वडा न ६ का वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने लगाएतले मन्तब्य राखेका थिए ।




