Print

चुवामा क्षमा पुजा


७ मंसीर, पर्वत । कुश्मा बजारको समिपमा छ चुवा । शैक्षिक क्षेत्रमा ख्याती प्राप्त चुवा उत्पादनमा पनि कम छैन । एउटै बस्तीमा सकिएको वडा हो चुवा । दुई खण्डे भौगोलिक अवस्थामा रहेको चुवा आफैमा परिचित नाम हो । जलविद्युत, कृषि र पशुपालनमा जिल्लाको ख्याती प्राप्त एउटै वडाले बर्षेनी भने दुःख पाइरहेको छ । बुधवार चुवा चक्रपथमा भेटिएका वडा अध्यक्ष सुरेन्द्र केसी अल्लि भावुक मोडमा देखिन्थे । सडक छेउमा टाँसीएको एउटा ब्यानरमा लेखएको थियो क्षमा पुजा । ‘२०५२ सालमा खनिएको सडक अझै कालोपत्र भएन ।’ उनले भने । सडक कालोपत्रे मात्र होइन चुवाले बर्षेनी ठूला संकटहरुको सामना गर्नुपरेको छ ।

कार्यक्रम स्थलमा पुगेका नगरप्रमुख रामचन्द्र जोशीले थपे–‘कहिले तमादीखोलाले मान्छे बगाउँछ कहिले सुन्दरे खोलाले ।’ नगरप्रमुख जोशीले दिएको उदाहरणले भने सवैलाई स्तब्ध बनायो । चुवामा गत असोजमा मात्र ३ जनालाई तमादीखोलाले जीप सहित बगाएको छ । तमादीखोला खासमा ठूलो खोला नै होइन । वडा अध्यक्ष केसीले भने खोलाले जीप बगायो भनेर जाँदा खोलामा पानी नै थिएन ।

कार्यक्रम स्थलमा पुगेका पत्रकार रोशन तिवारीले भने –‘जीप बगायो भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेर, घटनास्थल पुग्दा खोलामा पानी नै थिएन ।’ खोलामा जीप बगाउने पानी नदेखे पछि आफूले फेसवुकको स्टाटस नै डिलिट गरेको तिवारीले बताए ।

तमादीखोला मात्र होइन, बेला बेलामा सुन्दरे खोलाले समेत मानवीय विपत्ती निम्ताउने गरेको छ । २ बर्ष अघि मात्रै खोलामा आएको बाढिले २ जना मानिस र गाडी बगायो । विपत्तिहरु निरन्तर आउने गरेका कारण हिन्दू धर्मशास्त्र अनुसार क्षमा पुजा गर्न आफूले सुझाब दिएको नगरप्रमुख जोशीले बताए ।

बैद्धिक मन्त्र सहित चुवामा बुधवार क्षमा पुजा गरिएको छ । धर्मशास्त्रले पनि क्षमा पुजा गर्दा विपत्तिहरु नपर्ने, रोकिएका विकास आयोजनाहरुले गति लिने वडाअध्यक्ष केसीको भनाई छ । चुवा कुश्मा नगरपालिका वडा न ८ मा पर्दछ ।

सडक शिल्यान्यासको दिन पारेर वडाकै अगुवाईमा चुवामा क्षमा पुजा गरिएको हो । क्षमा पुजा गर्दा देवता रिसाएको भए माफी माग्ने गरिन्छ ।