Print

सेती खोचमा खसेका फलेवासका एक युवाको २ घण्टा पछि उद्धार


१९ कार्तिक, पर्वत । सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार राति पौने ८ बजे खसेका थिए । उनको २ घण्टाको प्रयासपछि उद्धार गरिएको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा ७ सदस्यीय टोली र सशस्त्र प्रहरी फलेपाटनबाट डीएसपी सजनलाल श्रेष्ठको कमाण्ड र गण्डकी प्रदेश गणबाट गरी उद्धार टोली २ घण्टा खटिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

इन्स्पेक्टर श्रेष्ठले करिब ४० मिटर तल खसेका बिकलाई डोरीको सहायताले बाँधेर माथि ल्याइएको जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँसहितको जनप्रतिनिधि टोली पनि घटनास्थल पुगेको थियो ।

उद्धार गरी एम्बुलेन्समार्फत् बिकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । उनी खतरामुक्त रहेको वडा सदस्य आशिष भण्डारीलाई उद्धृत गर्दै गण्डक न्यूजका लागि रन्जन अधिकारीले समाचार लेख्नुभएको छ ।