२६ असोज, पर्वत । जिल्लाको कुश्मा बजारमा द हार्नेस जीपलाईन प्रालिले विश्वकै दोस्रो लामो जीप फ्लाईनको शुरुवात गर्न लागेको छ । निर्माण कार्य सकिएको उक्त जीप लाईनको दशैँ सकिए लगतै ब्यवसायीक रुपमा सञ्चालन गर्न लागेको हो ।
कम्पनीका सचिव सुनिल बाँनियाका अनुसार कम्पनीले कुश्मा नगरपालिका–५ चाक्लेडिलदेखि १४ सय मिटर पर कालीगण्डकी नदी किनारमा रहेको साउने बगरमा ल्यान्ड’ हुने जिपलाइनको ब्यवसायीक रुपमा सञ्चालन गर्न लागेको हो ।
परिक्षण कार्य सफल भएपछि कम्पनीले कार्तिक १ गते देखि नै सर्वसाधारणको लागि जीप लाईन खुल्ला गर्न लागेको बाँनियाको भनाई छ ।
कम्पनीका सञ्चालक राजकुमार बस्नेतका अनुसार पहिलो परीक्षणमा नवीनले ९० सेकेन्डको समयमा १४ सय ८० मिटरको दूरी पार गरेका थिए । परीक्षण सफल भएसँगै दशै सकिए लगतै व्यावसायिक रूपमा सर्वसाधारणको लागि बुकिङ खुला गर्न लागिएको कम्पनीका अध्यक्ष विदुर पौड्यालले बताए । व्यावसायिक रूपमा जिपलाइनको शुल्क निर्धारण गर्न आन्तरिक तयारी भइरहेको बताउँदै उनले कात्तिक १ गतेदेखि नै टिकट बुक गर्न पाइने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।
कम्पनीका सचिव बानियाँका अनुसार पवित्र धार्मिक नदी कालीगण्डकीको सतहलाई दुई ठाउँबाट क्रस गर्न सकिने, नदीकै किनारमा अत्याधुनिक सुविधासहितको रिपोर्ट, कालीगण्डकीमा जेटस्की, सिसाको पुललगायतका साहसिक खेलको तयारी समेत अन्तिम चरणमा पुगेकाले पर्वतको जिपलाइनलाई एसियाकै आकर्षकमध्येको एउटामा राख्न सकिन्छ ।
‘कालीगण्डकीको सतहको २५० मिटरमाथिबाट जिपलाइनको टेक अफ हुन्छ, दुई ठाउँमा कालीगण्डकी क्रस हुन्छ, अन्यत्रका जिपलाइनमा यस्तो खालको आकर्षण छैन’ उनले भने, ‘अब पर्वतमा पर्यटकहरुको भीड लाग्दै जानेछ, मुस्ताङ आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई यी खेलहरूले आकर्षण गर्नेछन् ।’
भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन मेस्सीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । कुश्माबाट नजिकै रहेको पोखरामा रहेको क्लासिकल जिपलाइनको लम्बाई १८ सय मिटर रहेको छ । तर‚ पर्वतको जिपलाई १४ सय ८० मिटर मिटर भएर पनि सुपरम्यान शैलीको भएका कारण पर्यटकरुका लागि अझै आकर्षक रहेको मेस्सी बताउँछन् ।
सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ । इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने उनको भनाइ छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँको करिब १५ करोडको लगानीमा जिपलाइन निर्माण भएको हो ।




