१५ असोज, पर्वत । बालिकालाई फकाई फुलाई भारततर्फ विक्रिका लागि लैजाने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारी पक्राउ परेका हुन् ।

उनले असोज ६ गते दिउँसो साढे १२ बजेको समयमा प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छुट्टाई नेपाल भारत बोर्डर रानीजोगबनी पुर्याएका थिए । जोगबिनी स्थित मानव सहायता संस्थाले पक्राउ गरी अभिभावकको जिम्मा लगाएपछि दुवै जना पुन पर्वत जिल्लानै फर्केका थिए ।
बालिकाका परिवारको उजुरीको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाई कुश्माबजारको शिवालय चोकवाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।
भण्डारीलाई मानब बेचबिखन तथा ओसारपोसार मुद्धा शिर्षकमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।




