४ पुस, पर्वत । मालपोत कार्यालय पर्वतमा एक जना सेवाग्राहीले तोडफोड गरेका छन् । जलजला गाउँपालिका–३ माझफाँटका ३० बर्षिय सुमन बहादुर खत्रीले कार्यालयको काममा ढिलासुस्ती भएको भन्दै कार्यालय तोडफोड गरेका हुन् । उनले कार्यालय समय सकिनै लाग्दा आफ्नो काम सम्पन्न नभएपछि कार्यालयमा पेश गरेको श्रेस्ता मागेका थिए । कार्यालयले पेश भइसकेका श्रेस्ता दिन नमानेपछि उनी तोडफोडमा उत्रिएको कार्यालयको भनाई छ ।
तोडफोडमा उत्रिएका खत्रीले लामो समयसम्म आफ्नो काम नभएपछि तोडफोड गरेको बताए पनि कार्यालयले भने तोडफोडमा उत्रिएकै दिनमा श्रेस्ता कार्यालयमा दर्ता भएको बताएको छ । खत्रीले कागजी प्रक्रिया मिलाएपछि २०७७ साल पौष २ गते सवमिशन नं १७२४३४ मा सवमिशन नम्बरमा कार्यालयमा कागजातहरु पेश गरेका थिए ।
कार्यालयका प्रमुख मुकुन्द लामिछानेका अनुसार न्यूनतम मुल्य पुर्याई संसोधितका लागि पेश गरेको निवेदन दिउसो ३ः४० बजे मात्र कार्यालयमा प्राप्त भएको थियो । निवेदन उपर कारबाही प्रक्रिया अघि बढाउँदै गर्दा कार्यालय समय सकिएपछि खत्रीले तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिए । तोडफोडमा उत्रिएका खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खत्रीलाई अपराधिक उपद्रवमा मुद्दा चलाउने तयारी भैरहेको र म्याद थपका लागि जिल्ला अदालत पर्वतमा पेश गरिएको प्रहरी निरीक्षक मनिस श्रेष्ठले जानकारी दिए ।
खत्रीले कार्यालय तोडफोड गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि भने मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । सार्वजनिक सम्पत्ति सवैको भएकाले त्यसमा क्षति पुराउन नहुने एक थरीको तर्क छ । अर्को तर्फ मालपोत कार्यालयमा सधै जसो काममा ढिलासुस्ती हुने गरेको भन्दै अन्य सेवाग्राहीले तोडफोडको पक्षमा लेखेका छन् । मालपोत कार्यालयमा ढिलासुस्ती हुने र सेवाप्रवाहमा समस्या भएपछि अहिले अनलाईन सिस्टम र एकद्धार नीति अबलम्बन गरिएको छ । कार्यालयका कोठाहरुमा घुम्नुपर्ने झण्झटका मुक्त गराई एउटै कोठाबाट सवै काम सम्पन्न गर्ने सरकारको नीति छ ।
उता, कार्यालयमा भने पटक पटक सेवाग्राहीहरुले अझै पनि कार्य सम्पादनमा ढिलाई हुने गरेको गुनासो गर्दै आइरहेका छन् । कार्यालयले भने एक विज्ञप्ति जारी गर्दै तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रयास गरिएको बताएको छ । घटनाप्रति प्रेस विज्ञप्ति जारी गर्दै मालपोत कार्यालयले घटनाप्रति दुःख ब्यक्त गरेको छ ।
कार्यालय प्रमुख घिमिरेद्धारा हस्ताक्षरीत विज्ञप्तिमा निवेदन दर्ता भएकै दिन काम सम्पन्न भएन भनेर सेवाग्राही तोडफोडमा उत्रिएको उल्लेख गरिएको छ । कार्यालयबाट प्रवाह भएका सेवाहरु तोकिएकै समयमा प्रवाह भइरहेको समेत कार्यालयको भनाइ छ ।





