२६ मंसिर, पर्वत । पर्वतको कुश्मामा पर्यटक आकर्षित गर्ने हेतुले जिप लाईन निर्माण गरिने भएको छ । कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दुरीमा जिप लाइन बनाउन थालिएको हो । साहसिक पर्यटनको लागि जिल्लाका यूवाहरुले झण्डै ११ करोड लगानी गरेर जिप लाइन निर्माणको थालनी गरेको जनाएका छन् । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त परियोजनाको आज एक कार्यक्रमका बिच शिलन्यास गरेका छन् ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वत साहसिक पर्यटनको हव बन्न थालेको बताए। साहसिक पर्यटनमा भएको लगानी खेर नजाने बताउँदै जोशीले पर्यटन प्रबर्दनबाटै जिल्लाको समृद्धि संभव रहेको धारणा राखे । उनले पर्वत पोखरा पछिको पर्यटकीय गन्तव्य बन्ने योजनामा रहेको बताए । कुश्मा नगरपालिकाले पर्यटन पूर्वाधारमा लगानी गरेर जिल्लाको समृद्धिको यात्रा तिव्र गतिमा अगाडी बढाउन चाहेको पनि नगरप्रमुख जोशीले बताए । पर्वत जिल्ला अहिले देशभर पर्यटन पूर्वाधारले चर्चित बनेको र यसले रोजगारी सृजना गर्न पनि उत्तिकै भूमिका खेलेकोमा खुशी व्यक्र गर्नुभयो । जिप लाइन निर्माणमा नगरप्रमुख जोशी सहित, विदुर पौड्याल, सुनिल बानियाँ नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी र सूर्यबहादुर क्षेत्रीले लगानी गरेका हुन् ।
चार महिनामा सबै संरचना निर्माण गरिसक्ने निर्माणको जिम्मा लिएको श्याम जिपलाईन कम्पनीले जनाएको छ । कम्पनीका ईन्जिनियर नविन म्यासीले यो जिप लाईन सुपर म्यान शैलीमा निर्माण हुन थालेको बताए। म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।
क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रालिको भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको निर्माण कम्पनीका अध्यक्ष विदुर पौड्यालले बताए । इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । साउनेबगरमा रिसोर्ट पनि सञ्चालन गर्ने योजना रहेको पौड्यालको भनाई छ।
जिल्लामा बञ्जिको शुरुवात भएको छ । यान्त्रिक तुईनलाई केबलकार मोडलमा सञ्चालन पनि नीजि क्षेत्रबाट नै सञ्चालन गरिएको छ । पर्वतमा धेरै भन्दा धेरै पर्यटक भित्राउनका लागि जिप लाईनले थप मद्दत गर्ने कम्पनीका सचिव सुनिल बाँनियाले बताए । बाँनियाले सवै जना युवाहरु मिलेर गरेको यो लगानीमा राज्यले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा राखे ।




