Print

संक्रमण जोखिमकै वीच पर्वतमा विद्यालयहरु खुले

२६ मंसिर, पर्वत ।  कोरोना भाइरस संक्रमणको जोखिमका कारण गत चैतदेखि बन्द रहेका पर्वतका विद्यालयहरू क्रमशः सञ्चालनमा आएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको स्थानीय अवस्थालाई हेरेर विद्यालय सञ्चालन गर्न सक्ने भने स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेपछि पर्वतका सातवटै स्थानीय तहका सामुदायिक तथा निजी विद्यालयहरू सञ्चालनमा आएका हुन्। कतिपय विद्यालयहरूले पूर्ववत् रूपमा १० बजेदेखि चार बजेसम्म नै विद्यार्थीलाई बोलाएर शिक्षण सिकाई क्रियाकलाप गर्न थालेका छन्। पूर्ण रूपमा खुलेका विद्यालयहरू कतिपयले भने अहिलेसम्म एक पिरियडको समय ४५ मिनेट हुने गरेकोमा त्यसलाई आधा घण्टामा झारेर तथा मध्यान्तरको समय नराखेर कक्षा चलाई रहेका छन्।

कतिपय विद्यालयले भने कक्षा र सेक्सनलाई बार अनुसार पालोमा मिलाएर विद्यार्थी बोलाइरहेका छन्। संक्रमितहरू नभएको तथा बाहिरबाट कोही मान्छे गाउँमा नआएका ग्रामीण क्षेत्रका विद्यालयहरूले भने शिक्षा मन्त्रालयले स्थानीय तहलाई निर्णयको अधिकार दिअघि नै विद्यार्थीलाई पालोअनुसार बोलाएर सिकाउँदै आएका थिए।

क्वारेनटाइन रहेको तथा संक्रमितहरुको संख्या बढी भएका कुस्मा नगरपालिकाका विद्यालयहरू भने हालै मात्र सञ्चालनमा आएका छन्। कुस्मा नगरपालिकाले विद्यालय अवस्था हेरेर विद्यालयले नै निर्णय गरेर पठनपाठन सुरु गर्न सक्ने अधिकार विद्यालयमा दिएपछि अघिल्लो सातादेखि नै सामुदायिक विद्यालयहरू सञ्चालनमा आएका थिए। सामुदायिक विद्यालयको अवस्था हेरेर सोहीअनुसार निर्णय लिने पक्षमा रहेका निजी विद्यालयहरू पनि यो साताबाट सञ्चालनमा आइसकेका छन्। सञ्चालनमा आएका विद्यालयहरूले स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्डहरू पूरा गरेर विद्यार्थी बोलाएको बताएका छन्।

‘नगरपालिकाले विद्यालय खोल्न सक्ने निर्णय गरेपछि हामीले पालोअनुसार कक्षागत रूपमा विद्यार्थीलाई बोलाएका छौँ। स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्डहरूको पालना गरेर विद्यालय खुलाइएको हो,’ सदरमुकाममा रहेको पर्वत गुरुकुल एकेडेमीका प्रधानाध्यापक कमल भुसालले भने, ‘प्रेयरदेखि कक्षाभित्रको बसाइमा पनि सामाजिक दूरी कायम छ। हरेक विद्यार्थीले मास्क र फेस शिल्ड लगाउँछन्। विद्यालय छिर्नु पहिले विद्यार्थीको तापक्रम जाँचेर सेनिटाइज गरेर मात्र विद्यालयमा छिर्न दिइएको छ।’

नियमित रूपमा विद्यार्थीहरू विद्यालयमा नै जान थाले पनि विद्यालयले यस अगाडिबाट सञ्चालन गरिरहेका अनलाइन कक्षाहरू समेत चलाइरहेको विद्यालयहरूले बताएका छन्। कुस्माको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिकादेवी लोहनी आचार्यले पालो अनुसार विद्यार्थी बोलाएर कक्षामा पठनपाठन भइरहेको बताउँदै तत्कालै अनलाइन कक्षाहरू नरोकिने बताइन्। विद्यालयमा उपस्थित हुन अनलाइनको पहुँचमा नरहेका विद्यार्थीहरुलाई विशेष केन्द्रित गरिएको र विद्यालयमा आउन नसकेकाहरूको लागि समेत अनलाइन प्रभावकारी भएको उनको भनाइ छ। सामुदायिक जस्तै निजी विद्यालयहरूले पनि विद्यालयमा विद्यार्थी बोलाउने र अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने दुवै काम गरिरहेका छन्।

विद्यार्थीहरूलाई जोर बिजोर, कक्षागत पालो, विषयगत पालो लगायतका आधारमा विद्यालयमा बोलाउने, सामाजिक दूरी कायम गर्ने, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने तथा शिक्षकहरुले पनि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गराइरहेको कुस्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए। नगरपालिकाको बजार क्षेत्रमा रहेका विद्यालयहरू १० देखि चार बजेसम्म नै सञ्चालन हुने अवस्था नरहेको तर गाउँमा रहेका विद्यालयहरूले बिहान नौ देखि १२ र १२ देखि ३ बजेसम्म गरेर पनि चलिरहेको उनले बताए।

फलेवास नगरपालिका, पैंयु गाउँपालिका, महाशिला गाउँपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकामा पनि भौतिक दूरी कायम गर्ने र मास्क तथा सेनिटाइजरको प्रयोग गर्दै कक्षाहरू सञ्चालन भएका छन्। यी स्थानीय तहहरूमा साउनदेखि नै टोल शिक्षा तथा घरदैलो समेत गरेर पठनपाठन गराइएको थियो भने अहिले विद्यार्थीलाई स्कुलमै बोलाएर नियमित पढाउन, विद्यालयका आन्तरिक परीक्षा लिन लगाइएको बताइएको छ।