९ मंसिर, काठमाण्डौं । सत्तारुद दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद पदम गिरीले नेकपाको पार्टी एकता जोगाउने दायित्व दुवै अध्यक्षका रहेको बताएका छन् । राजधानीमा एक टेलिभिजन कार्यक्रममा अन्तरर्वाता दिदै नेता गिरीले नेकपाका पहिलो र दोस्रो अध्यक्षको सुझबुझपूर्ण निर्णयबाट नै पार्टी एकता जोगिने धारणा राखेका हुन ।
सांसद गिरीले कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव फिर्ता गरेर दुवै अध्यक्षले साझा प्रस्ताव ल्याउनुपर्ने विचार ब्यक्त गरे । उनले वर्तमान सरकार र प्रधानमन्त्रीलाई आक्षेप लाउने गरी ल्याइएको प्रस्तावले समग्र पार्टीलाई नै असर पर्ने भन्दै प्रतिवेदनमा समेटिएका विषयहरु आधारहिन रहेको गिरीको भनाई छ । पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा पार्टी भित्र वैचारिक बहस आवश्यक भए पनि ब्यक्तिगत र चारित्रिक आरोपहरु लगाएर सरकार असफल भएको पार्टी भित्रैबाट ठहर गर्नु समग्र पार्टीकै लागि दुःखको कुरा भएको उनले बताए ।
आगामी निर्वाचनमा जनता सामू मत माग्न जाँदा पनि लाज नै लाग्ने गरी पार्टीकै नेतृत्वमा रहेको सरकारलाई राष्ट्रघाति, भ्रष्ट्रचारी घोषणा गरेर पार्टी एकतालाई नै धरापमा पार्न नहुने उनको भनाई छ । आन्तरीक समस्याहरु पार्टी भित्रको वैठकबाट नै छलफल गरेर समााधन गर्नुपर्ने धारणा राख्दै सार्वजनिक रुपमा लगाईने आरोपहरुले पार्टी एकतामा खलल पुग्ने उनले बताए । संघीय सांसद समेत रहेका गिरीले वर्तमान सरकारले निकै महत्वपूर्ण उपलब्धिहरु हासिल गरे पनि त्यसको अपनत्व पार्टीले लिन नखोज्नु विडम्बना रहेको बताए । भौतिक पूर्वाधार र संघीयता कार्यान्वयन तथा वैदेशिक नीतिमा वर्तमान सरकार इतिहासकै सफल भएको उनको ठम्माई छ ।
नेताहरु वीचको ब्यक्तिगत मनमुटावलाई प्रतिवेदनमा लेखेर कार्यकर्तालाई निराश पार्ने कार्य कसैले पनि गर्न नहुने उनले बताए । पार्टी एकताका बाँकी कामहरु नसकिँदा कार्यकर्ताहरुमा नैराश्यता छाएको र पार्टीले गति लिन नसकेको हुँदा तत्काल सवै एकताका काम सक्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यता समेत नटुंगेको वर्तमान अवस्थामा जनवर्गिय संगठन र जिल्ला तहका पार्टीका कामहरु समेत बन्द प्रायः अवस्थामा रहेको उनले बताए ।
‘बालुवाटार वरीपरी हाम्रा मान्छे नियुक्त भएनन्, हाम्रा मान्छे मन्त्री भएनन भन्नुको अर्थ छैन ।’ नेता गिरीले भने–‘कार्यकारी अध्यक्षले पार्टीको काम नगर्ने तर सरकारलाई आलोचना मात्र गर्न काम गर्नु ठिक होइन ।’ उनले सरकारमा नभएका नेताहरुले पार्टी एकताको कामलाई टुंगाउनु तर्फ सोच्नुपर्ने धारणा राखे ।
दुई फरक प्रस्ताव आउँदा त्यसले पार्टी विभाजनलाई मद्दत गर्ने भन्दै नेता गिरीले कमीकमजोरी जोजसं बाट भएका छन् ति सवै सच्चिनुपर्ने बताए । कम्युनिष्ट पार्टी भित्र अन्तरसंघर्षका कुराहरु भईरहने भन्दै सरकारले नियमित रुपमा प्रतिपक्षीसंग भेटघाट गर्ने, विदेशी कुटनैतिक ब्यक्तिहरुलाई भेट गर्नुलाई अतिरञ्जीत गरिएको बताए । प्रतिपक्षी दलसंग संवैधानिक आयोगका नियुक्तीका विषयमा छलफल गर्न भेट गर्नु सामान्य रहेको उनको भनाई छ । भारतसंग सिमाको समस्या र असमान सन्धी सम्झौता खारेजको समेत विषयमा निरन्तर सम्बाद हुनुलाई पार्टी भित्रबाट नै अर्कै ब्याख्या गरिएको नेता गिरीले बताए ।
राष्ट्र राष्ट्रिय र जनजीविकाको क्षेत्रमा वर्तमान सरकार सफल भएको गिरीको दावी छ । आज वर्तमान सरकारलाई अठ्यारोमा पार्ने र राम्रा कामको जस पार्टीले नलिँदा भोलीको निर्वाचनमा जनता सामू के एजेण्डा लिएर जाने भन्ने विषयमा नेताहरुले ध्यान दिनुपर्ने गिरीको भनाई छ । गिरीले पार्टीमा सामान्य छलफल हुँदैमा पार्टी विभाजन नहुने बताए ।




