Print

कोरोनाको जोखिम बढ्दै पर्वतमा, जिल्लाका ३ पालिकामा लक डाउन

१८ कार्तिक, पर्वत । दशैंको शुरुवातको एक महिना अघिसम्म संक्रमणको दर निकै न्यून रहेको पर्वत जिल्लामा दशैंको आगमनसंगै त्यो दर बढेर गएको छ । चाडपर्वको बेलामा भएको चहल पहलका कारण कोरोना संक्रमणको दरमा एक्कासी बृद्धि भएको हो ।

दशैको शुरुवात हुनु २ हप्ता पहिला देखि नै मुख्य गरी सदरमुकाम कुश्मा बजार र जिल्लाका प्रमुख ब्यापारीक क्षेत्रहरुमा मानिसको बाक्लो उपस्थिती थियो । जिल्लामा बाहिर जिल्लाबाट भित्रनेको संख्यामा पनि अधिक देखिथ्यो । सावधानी नअपनाएका कारण दशैंका पूर्व सन्ध्यामा नै समुदायमा कोरोना देखियो ।

जिल्लामा ब्यापारी देखि वैंकमा कार्यरत कर्मचारीलाई समेत कोरोना देखिए पछि भने यो दर बढ्न सक्ने सहज अनुमान गरिएको थियो । यस अघिकोरोना संक्रमणको दरलाई न्यूनिकरण गर्नका लागि संघीय सरकारले बाहेक जिल्ला तहबाट २ पटकसम्म लक डाउनको घोषणा गरिएको थियो तर, चाडपर्वको बेलामा लक डाउन भने कतै भएन् । यससंगै जिल्लामा संक्रमणको दर बढेको देखिन्छ ।

जिल्लाको सदरमुकाममा ब्यापार गर्ने बागलुङ घर भएकी एक महिला र अर्का होटल सञ्चालकको कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भयो । योसंगै सदरमुकाममा थप जोखिमको वातावरण सृजना भएको देखिन्छ । समुदायमा एक जनामा मात्र संक्रमण देखिदा लक डाउन भएको पर्वतमा पहिलो मृत्युमा लक डाउनको घोषणा गरिएन् ।

केहि दिनमै दोस्रो मृत्यु भएपछि भने अहिले सदरमुकाम कुश्मा बजार सहित मोदी गाउँपालिका र जलजला गाउँपालिकामा लक डाउनको घोषणा गरिएको छ । सरकारी तथ्यांक हेर्दा जिल्ला हालसम्म १९२ जना संक्रमीत भएका छन् । ति मध्ये ४८ जना भने अहिले पनि सक्रिय संक्रमीतको संख्या रहेको छ । जिल्लामै स्थायी घर हुने एक जनाको मृत्यु भएको देखिन्छ । यस अवधिमा १ सय ४४ जनाले भने कोरोना जितेका छन् । जिल्लामा स्वास्थ्यकर्मी, वैंकका कर्मचारी र ब्यापारीहरुलाई कोरोन संक्रमण पुष्टि भइसकेको छ ।

यो अवस्था हेर्दा समुदायमा अझै ठूलो मात्रामा संक्रमण भएको अनुमान लगाउन सकिन्छ । कतिपय अवस्थामा समुदायका मानिसले परिक्षण गर्दा संक्रमण नदेखिए पनि अझै पनि जिललका ब्यापारीक केन्द्रहरुमा ठूलो मात्रामा संक्रमीतहरु रहेको अनुमान गर्न सकिन्छ । केहि समयमा नै फेरी नेपालीको ठूलो पर्व तिहार आउँदैछ । यो पर्वमा पनि मानिसको चहलपहल धेरे हुने गर्दछ । यस्तो बेलामा थप सावधानी अपनाउन सकिएन भने संक्रमणको दर थप बढेर जाने देखिन्छ ।