Print

मजदुर हिडेरै घर पुगे, काठमाण्डौं बस्नेहरु एसी बसमा घर फर्के

१४ वैशाख, पर्वत । हरेक विपत्तिमा समस्या पर्ने भनेको निम्न वर्ग नै हो । आर्थिक अवस्था कमजोर हुने श्रमिक, मजदुर र गरिब बर्गलाई विपत्तिले सवैभन्दा धेरै असर गर्छ । पहिरो जान्छ, गरिबको घर भिरमा हुन्छ, त्यो घर बगाउँछ, भत्काउँछ । बाढि आउँछ, गरिबकै घर खोला छेउमा बनेको हुन्छ, त्यसलाई डुवाउँछ । भुकम्प आउँछ कमजोर संचरनाबाट बनेको गरिबकै घरलाई पहिलो प्रहार हुन्छ । यी र यस्ता विपत्तिमा सवैभन्दा बढि गरिब वर्ग नै प्रभावित हुने गर्छ । पछिल्लो समय देशमा कोरोना भाइरस फैलने सम्भावना भएको भन्दै सरकारले लक डाउनको घोषणा गरेको छ ।

‘लक डाउन’ अर्थात बन्दाबन्दी । यसको अर्थ नियमित सवै काम बन्द गरेर घरमा नै बस्ने । अथवा जो जहाँ छौ त्यहि बस्ने । यसले पनि सवैभन्दा बढि प्रताडित गरिब नै भएका छन् । दैनिक गुजारा गरेर खाने रोजी रोटी नै गुमेको छ । दैनिक ज्यालामजदुरी गर्नेहरुको काम बन्द हुँदा आम्दानीको श्रोत छैन् । निर्माण काम बन्द भए, उद्योग कलकारखाना बन्द भए । मजदुर, श्रमिक र गरिब वर्गको आम्दानीको श्रोत खोसियो । यति मात्र होइन् । घर छाडेर श्रमका लागि अन्य स्थानमा गएका मजदुरहरु घरमै बसेकै ठाउँमा थुनिए । खाने खर्च सकिए पछि उनीहरु आफ्नो घरमा जाने तयारी गरे, तर सवारी बन्दका कारण उनीहरुले ठूलो कष्ठ बेहोर्नु परयो । कम्तिमा १ हप्ता भोक भोकै हिडेर मजदुर घरमा पुगे ।

मजदुरको यो पिडा मिडियामा सार्वजनिक भएको केहि दिन पछि भने सरकारे अघोषित रुपमा अलपत्र परेकाहरुलाई घरमा पुराउने नीति लियो । सरकारले यो नीति अबलम्बन गर्ने बेलासम्ममा धेरै मजदुरहरु हिडेरै घर पुगीसकेका थिए । मजदुलाई घर पठाउने सरकारको भित्री नीति पछि संघिय राजधानीबाट बाहिरीनेको संख्या यत्तिबेला ह्वातै बढेको छ । यसमा सवैभन्दा बढि सक्रिय राजनैतिक दलका नेताहरु भएको देखिन्छ । दैनिक हजारौंको संख्यामा राजधानी छाड्नेको संख्या छ । यतिबेला राजधानी छाड्नेहरुमा मजदुर भन्दा अधिकांश विद्यार्थी, ब्यवसायी र अन्य प्रयोजनका लागि काठमाण्डौं बसोबास गर्नेहरु छन् । अधिकांश मजदुर र श्रमिक वर्ग लक डाउन लम्बिने देखेपछि यस अघि नै हिडेरै भए पनि घरमा पुगिसकेका छन् । राज्यको नीति अलपत्र परेका मजदुरलाई उद्धार गरी घरमा पठाउने देखिन्छ, तर यतिबेला जिल्ला भित्रनेहरु राजधानीका मध्यम देखि उच्च वर्गका मानिसहरु छन् । यसले पनि पुष्टि गर्छ गरिब र मजदुर वर्ग सधै मर्कामा पर्दछन् । उनीहरुको नाउँमा धनि, मध्यम वर्गले सधै फाइदा लिने गर्दछन ।