Print

‘कृषिजन्य वस्तुको निकाशी करका विषयमा बुझ्दै नबुझी टिप्पणी गरियो’–नगर प्रमुख शर्मा

१६ भदौ, पर्वत । निकाशी करका विषयमा गलत प्रचार गरिएको फलेवास नगरपालिकाले जनाएको छ । नगर सभाबाट फलेवास नगर क्षेत्रबाट बाहिर निर्यात हुने कृषिजन्य वस्तुमा लगाएको करले कृषकलाई नै सहज हुने र निर्यात हुने कृषिजन्य वस्तुको रेकर्ड राख्न नगरपालिकलाई सहज हुने गरी कर लगाइएको बताउँदै नगर प्रमुख पदमपाणी शर्माले कर नीतिको अध्ययन नै नगरि टिप्पणी गरिएको प्रति दुःख ब्यक्त गरे ।

नगरसभाले नगर क्षेत्रबाट निकासी हुने २३ प्रकारका कृषिजन्य वस्तु तथा गैरकाष्ठ वन पैदावार, खोलानालामा माछा मार्ने र निकाशी पैठारीका विषयमा कर लगाउने गरी निर्णय गरेको थियो । न्यूनतम १ रुपैंया कर लगाउँदा त्यसले कृषकलाई नभई कृषकको उत्पादन खरिद गर्नेलाई करभार पर्ने समेत शर्माले स्पष्ट पारे ।

१ रुपैंया वापत कृषकलाई नगरपालिका १ सय रुपैंयासम्मको सहुलियत सेवा उपलब्ध गराउने गरी तयारी गरीरहेको समेत उनले वताए । प्रति क्यून्टल तरकारीमा १० रुपैंया कर निकै थोरै भएकाले त्यसले कृषक र खरिद कर्तालाई ठूलो आर्थिक भार नपर्ने समेत स्पष्ट पारे । स्थानीय तहहरु सञ्चालनका लागि सवै क्षेत्रमा कर लगाउन सकिने गरी संविधानले ब्यवस्ता गरेबमोजीम स्थानीय तहहरुले पछिल्लो समय करका दायराहरु बढाउँदै लगेका छन ।