Print

कुश्माबासीको प्रश्न कसरी सुरक्षित हुने हामी बजारमा ?

२० साउन, पर्वत ।  जिल्ला ट्राफिक प्रहरी कार्यायल पर्वत यस वर्ष ट्राफिक राजश्वमा भारी बृद्धी गरेको छ । राजश्वमा बृद्धी भएसँगै सवारी कारवाही समेत बढेर गएको पाईन्छ ।

तर, पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा ट्राफिक उलंघनका घटनाहरु दैनिक रुपमा बढिरहेका छन् । पछिल्लो घटना आज (शुक्रबार) बिहान एउटा सामान बेच्ने भ्यानले कुश्माको व्यस्त सडकमा ताण्डब मच्चायो । कुश्माको सबैभन्दा व्यस्त सडकमा एक सिकारुले सवारी चलाउँदा उक्त भ्यान नजिकैको पसल भित्रै छि¥यो । यो सँगै नजिकै पार्किङ गरि राखिएका एक ट्याक्सी र एक स्कुटीमा समेत क्षती पुग्यो ।

यससँगै आजै बिहान उक्त गाडी तिनै सिकारुले चलाएर ३ फन्का बजार घुमाएको प्रत्यक्षदर्शी बताउँछन् । ३ फन्का सिकेर आएको गाडी एकाएक ठूलो आवाजका साथ बजारमा तिब्र गतिमा दौडियो । छेउका दुई सवारीलाई ठक्कर दिँदै पसल भित्र गाडी पस्यो । पसलमा काम गरिरहेका एक युवा कुनामा टाँसिएर ज्यान जोगाए तर, पसलमा भने क्षती पुग्यो । वरपर सडकमा हिँडेका यात्रुहरु दौडिएर ज्यान जोगाए ।

यो घटना उदाहरणको रुपमा मात्र लिन सकिन्छ तर पछिल्लो समय पर्वत ट्राफिकको निस्कृयता यसको उदाहरण हो । राजमार्गमा मात्र केन्द्रीत रहेर राजश्व बढाएको ट्राफिकलाई बजार क्षेत्र भित्र भएका क्रियाकलापको बारेमा कुनै प्रवाह छैन । कुश्मा बजारका व्यस्त सडकहरुमा गाडी, स्कुटी तथा मोटरसाईकल सिक्ने प्रयोगस्थल बनिरहेका छन् । यसतर्फ धेरै पटक ट्राफिक प्रहरीको ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको स्थानीयवासीहरु बताउँछन् ।

बजारमा बिना लाईसेन्सका, उमेर नै नपुगेका बच्चाले स्कुटी चलाउने, गाडी तथा ट्याक्सी सिक्ने, बाटोमा निर्माण सामाग्रि थुप्राउने, जथाभावी पार्किङ गर्ने जस्ता ट्राफिक उलंघनका घटनाहरु बढिरहेको भएपनि ट्राफिक प्रहरीले यसतर्फ ध्यान दिएको पाईँदैन । यस्ता घटनाहरुले कुश्माको सडक असुरक्षित भएको स्थानीयको गुनासो छ ।

सडकमा हिँड्ने यात्रुलाई सडक सुरक्षित छ भन्ने देखाउन पनि ट्राफिक व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीहरुको माग छ । बजारमा भएका यस्ता ट्राफिक उलंघनका घटनाहरुको निगरानीका लागि ट्राफिक प्रहरीलाई खटाएर राख्नुपर्ने, सिसि क्यामेराको समूचित प्रयोग र निगरानी गरि ट्राफिक उलंघन गर्नेलाई तत्कालै कारवाही गर्ने, जथाभावी पार्किङ गर्नेलाई कारवाही गनुपर्ने कुश्मावासी बताउँछन् । गणेश पौडेल