Print

किम्रुङ खोला राति ११ बजेपछि पुरानै लयमा, थुनिएको स्थानको विवरण आउन बाँकी


पर्वत, भदौ २४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोका कारण थुनिएको भनिएको किम्रुङ खोला मंगलबार राति ११ बजेपछि पुरानै लयमा बग्न थालेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।


अन्नपूर्ण गाउँपालिका–११ का वडा सदस्य जगनबहादुर गुरुङका अनुसार राति ११ बजेपछि खोलाको बहाव सामान्य अवस्थामा आएको हो। “राति ११ बजेपछि किम्रुङ खोला आफ्नै लयमा बगेको जानकारी आएको छ,” गुरुङले पर्वत न्यूजसंग भने ।


यद्यपि, खोला थुनिएको भनिएको वास्तविक स्थानमा अहिले के अवस्था छ भन्ने यकिन विवरण भने प्राप्त हुन सकेको छैन। टेलिफोन सम्पर्कका क्रममा सम्बन्धित क्षेत्रमा मोबाइल टावरको समस्या रहेकाले त्यहाँ रहेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको वडा सदस्य गुरुङले बताए।


उनका अनुसार बिहान केही समयपछि सम्बन्धित क्षेत्रबाट थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसपछि खोला वास्तवमा कति थुनिएको थियो, अहिले थुनिएको भागको अवस्था कस्तो छ र पानीको बहाव कस्तो छ भन्ने यथार्थ विवरण स्पष्ट हुने बताइएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय पर्वतले किम्रुङ खोलामा पहिरो गएर खोला थुनिएको जानकारी प्राप्त भएको भन्दै मोदी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। किम्रुङ खोला मोदी नदीमा मिसिने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्वततर्फ पनि सतर्कता अपनाइएको हो।