Print

भोटेकोशी बाढीपीडितका लागि कुश्माका जनप्रतिनिधि र कर्मचारीद्वारा १६ लाख ८६ हजार सहयोग


१८ भदाैं, पर्वत । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुश्मा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो सेवा–सुविधा तथा पारिश्रमिकबाट १६ लाख ८६ हजार ४२५ रुपैयाँ सहयोग गर्ने भएका छन्।


कुश्मा नगरपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले पाउने मासिक सेवा–सुविधाको सात दिन बराबरको रकमबाट २ लाख ९४ हजार १५९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।


त्यस्तै, नगरपालिकामा कार्यरत कर्मचारीमध्ये उपसचिव/अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको पारिश्रमिकबाट १३ लाख ९२ हजार २६६ रुपैयाँ संकलन गरी कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ।
यसरी जनप्रतिनिधि र कर्मचारीको तर्फबाट गरी कुल १६ लाख ८६ हजार ४२५ रुपैयाँ तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो।


नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई समेत नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीको अनुपातमा सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सम्बन्धित विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।


भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कुश्मा नगरपालिकाले दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।


नगरपालिकाले बाढीमा बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, उद्धार तथा राहतका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायसँग आवश्यक पहल तथा सहयोगका लागि आग्रहसमेत गरेको छ। पछिल्लो समय स्थानीय तह, संघसंस्था तथा विभिन्न क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउने क्रम बढेको छ।