१७ भदौं, पर्वत । राष्ट्रिय वाणिज्य बैंकको नाम र लोगो दुरुपयोग गरी सर्वसाधारणलाई फोन गरेर बैंक खाताबाट रकम चोरी गर्ने प्रयास भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले सर्वसाधारणलाई सचेत गराएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतले बुधबार जारी गरेको सूचनाअनुसार Truecaller मा ‘Rastriya Banijya Bank’ लेखिएको र बैंककै लोगोसमेत देखिने मोबाइल नम्बरबाट पर्वत जिल्लाका विभिन्न व्यक्तिलाई फोन आउने गरेको पाइएको छ।
फोन गर्ने व्यक्तिले आफू राष्ट्रिय वाणिज्य बैंकबाट बोलेको भन्दै बैंक खाताको KYC अपडेट गर्नुपर्ने बताउने र त्यसका लागि मोबाइलमा आएको नम्बर/कोड आफूलाई उपलब्ध गराउन आग्रह गर्ने गरेको प्रहरीले जनाएको छ। त्यसरी प्राप्त कोडको दुरुपयोग गरी खातामा रहेको रकम चोरी गर्ने वा अन्यत्र स्थानान्तरण गर्ने ठगीको प्रयास भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले त्यस्ता फोन वा अन्य कुनै माध्यमबाट OTP मागेमा नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकको नाम, लोगो वा कर्मचारीको परिचय देखिए पनि गोप्य विवरण उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको हो।
राष्ट्रिय वाणिज्य बैंकले पनि बैंकका कर्मचारीले ग्राहकसँग PIN, OTP, Password लगायतका गोप्य विवरण कहिल्यै नमाग्ने भन्दै यसअघि नै फिसिङ तथा ठगीबाट सावधान रहन आग्रह गरिसकेको छ।
प्रहरीका अनुसार कुनै शंकास्पद फोन आएमा तत्काल सम्बन्धित बैंक वा प्रहरीलाई जानकारी गराउन सकिनेछ। बैंकको आधिकारिक सम्पर्क विवरणबाट मात्र सेवा तथा KYC सम्बन्धी जानकारी लिन पनि आग्रह गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइटमा बैंकको कल सेन्टर नम्बर ०१–५९७००१८ र टोल फ्रि नम्बर १६६००१३२०२२ उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार पटेलले यस्तो ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।




