Print

‘यस्तै शासकीय सोच रहिरहे अझ धेरै गणेश नेपाली जन्मिन्छन्’ : पदम गिरी


२६ साउन, पर्वत । काठमाडौंमा मुगुका गणेश नेपालीले आत्मदाहपछि ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै पूर्व कानुन, न्याय तथा संसदीय मामिला तथा स्वास्थ्यमन्त्री ले सरकारको शासकीय सोच र जरिवाना नीतिमाथि कडा टिप्पणी गरेका छन्।


सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै गिरीले नागरिकको वास्तविक अवस्था र आर्थिक क्षमताप्रति राज्य संवेदनशील बन्न नसके यस्ता दुःखद घटना दोहोरिन सक्ने बताएका छन्।


उनले लेखेका छन्, “नागरिकको वास्तविक अवस्थाप्रति रत्तिभर पनि संवेदनशील नहुने, पश्चिमाको अन्धानुकरणलाई नै आधुनिकता र विकासको पर्याय ठान्ने शासकीय सोच कायम रहिरह्यो भने भविष्यमा अझ धेरै गणेश नेपालीहरू जन्मिन बाध्य हुनेछन्।”


गिरीका अनुसार मुगुबाट काठमाडौं आएर आफ्नो र परिवारको जीविका चलाउनु आफैंमा ठूलो संघर्ष हो। त्यसमाथि नागरिकको आर्थिक क्षमता, आयस्तर र सामाजिक यथार्थलाई बेवास्ता गर्दै जथाभावी जरिवाना बढाइँदा पीडामाथि झन् पीडा थपिने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन्।


उनले कानुनको कार्यान्वयन आवश्यक भए पनि कानुनको उद्देश्य नागरिकलाई थिच्नु नभई सुरक्षित, जिम्मेवार र न्यायपूर्ण समाज निर्माण गर्नु हुनुपर्ने बताएका छन्।


सरकारलाई सम्बोधन गर्दै गिरीले जरिवाना निर्धारण गर्दा नागरिकको आर्थिक अवस्था, सामाजिक यथार्थ र देशको आयस्तरलाई आधार बनाउन आग्रह गरेका छन्। विकसित मुलुकका कानुन मात्र होइन, त्यहाँको आम्दानी, सामाजिक सुरक्षा र जीवनस्तरसमेत अध्ययन गरेर नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ।


“केवल दण्डको नक्कल गरेर विकास हुँदैन; विकास त नागरिकप्रतिको संवेदनशीलता, न्यायपूर्ण नीति र सुशासनबाट हुन्छ,” गिरीले उल्लेख गरेका छन्।


उनले गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै राज्यले यस्ता दुःखद घटना दोहोरिन नदिने गरी नागरिकमुखी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।