Print

कुश्माका स्वास्थ्य संस्थाको सामाजिक परीक्षण : १७ सुत्केरीमध्ये ५ जना १९ वर्षमुनिका

२३ असार, पर्वत । कुश्मा नगरपालिकाअन्तर्गत रहेका तीन वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षणका क्रममा कम उमेरमा विवाह तथा गर्भधारणको समस्या अझै पनि कायम रहेको तथ्य सार्वजनिक भएको छ । कुश्मा नगरपालिका स्वास्थ्य शाखाले गरेको सामाजिक परिक्षणको क्रममा यस्तो तथ्य भेटिएको हो ।

कुश्मा नगरपालिकाले चालु आर्थिक बर्षमा ३ वटा स्वास्थ्य संस्थाको सामाजिक परिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । सामाजिक परिक्षणको क्रममा निःशुल्क प्रसुति सेवा लिने आमाहरुको विवरणबाट कम उमेरमा सुत्केरी हुने महिलाको संख्या २९ प्रतिशत बढि देखिएको हो ।

सामाजिक परीक्षणबाट प्राप्त तथ्याङ्कअनुसार प्रसूति सेवा लिएका कुल १७ जना आमामध्ये ५ जना (२९ प्रतिशत) १९ वर्षमुनिका रहेका छन् भने १२ जना (७१ प्रतिशत) २० वर्ष वा सोभन्दा माथिका छन् । यसले बालविवाह तथा कम उमेरमै गर्भधारण गर्ने प्रवृत्ति अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको संकेत गरेको छ ।

नगरपालिकाले कुश्मा नगरपालिका भित्र पर्ने कुश्मा आधारभूत अस्पताल ठुलिपोखरी, कुश्मा स्वास्थ्य चौकी पाङ र दुर्लुङ स्वास्थ्य चौकी दुर्लुङको सामाजिक परिक्षण सम्पन्न गरेको छ । ३ वटै संस्थाहरुमा सेवा लिनेकोहरुको तथ्यांकबाट यस्ता अवस्था देखिएको प्रतिवेदन प्राप्त भएको कुश्मा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
३ संस्था मध्ये दुर्लुङ स्वास्थ्य चौकीमा २ जनाले मात्रे यस बर्ष प्रसुति सेवा लिएका छन् । कुश्मा आधारभुत अस्पतालमा ७ जना मध्ये २ जना १९ बर्ष भन्दा मुनीको संख्या देखिन्छ । यसैगरी कुश्मा स्वास्थ्य चौकीमा भने कुल ८ जनाले सेवा लिएकोमा ३ जना कम उमेरका आमाहरुको संख्या देखिन्छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार कम उमेरमा विवाह र गर्भधारण हुँदा आमा तथा नवजात शिशु दुवैको स्वास्थ्यमा जटिलता आउने जोखिम बढी हुन्छ । यसले मातृ तथा शिशु मृत्युदर, कुपोषण, समयअघि प्रसूति, कम तौलका शिशु जन्मिने तथा शिक्षाबाट वञ्चित हुने जस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउन सक् छ । सामाजिक परीक्षणको निष्कर्षले स्वास्थ्य सेवाको पहुँच बढ्दै गएको देखिए पनि कम उमेरमा विवाह तथा मातृत्वको समस्या अझै चुनौतीका रूपमा रहेको स्पष्ट पारेको छ ।