Print

पैयुँ गाउँपालिकाले १२ सहकारी संस्था खारेजी प्रक्रिया अघि बढायो

२३ जेठ, पर्वत । पैयुँ गाउँपालिकाले लामो समयदेखि निष्क्रिय रहेका १२ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले सूचना जारी गर्दै सम्बन्धित सहकारी संस्थाहरूलाई सुनुवाइको अवसर प्रदान गरेको जनाएको छ।


गाउँपालिकाका अनुसार सहकारी ऐन २०७४ को दफा ८८ तथा पैयुँ गाउँपालिकाको सहकारी ऐन २०७५ बमोजिम लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरूले नियमित रूपमा पेश गर्नुपर्ने कारोवारको चौमासिक तथा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वार्षिक साधारणसभाको निर्णयको प्रतिलिपि लगायतका आवश्यक विवरण गाउँपालिकामा पेश नगरेको पाइएको छ।
यसै आधारमा दर्ता खारेज गर्ने प्रयोजनका लागि ती सहकारी संस्थाहरूलाई सुनुवाइको मौका दिइएको गाउँपालिकाले जनाएको छ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दर्ता खारेज नगर्नुपर्ने कुनै कारण भए लिखित रूपमा स्पष्टीकरणसहित गाउँपालिकामा उपस्थित हुन आग्रह गरिएको छ।


निर्धारित अवधिभित्र उचित कारण पेश नगरेमा सम्बन्धित सहकारी संस्थाको दर्ता खारेजी प्रक्रियालाई अगाडि बढाइने चेतावनी गाउँपालिकाले दिएको छ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गौरेद्वारा हस्ताक्षरित सूचना शुक्रबार सार्वजनिक गरिएको हो।