Print

मोदीको विकास र सम्भावना विषयमा काठमाण्डौंमा समन्वयात्मक बैठक


१३ वैशाख, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले गाउँपालिका भित्र रहेका प्राज्ञिक तथा उच्च पदस्थ ब्यक्तिहरुसंग छलफल गरेको छ । गाउँपालिकाले े समग्र विकास निर्माणका सम्बन्धमा काठमाण्डौंमा रहेका विभिन्न निकायमा रहेका प्राज्ञिक ब्यक्तिहरुसंग परामर्श गरेको हो ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा पूर्व मन्त्री पदम गिरीले जिल्लाबासीले विभिन्न ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभएको थियो । जिल्लामा विकास आयोजना भित्राउने मात्र नभई सामुदायिक विकासका काममा समेत सवै क्षेत्रको सहयोग हुनुपर्ने गिरीको धारणा थियो ।

कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश सभा सदस्य भक्त कुँवरले प्रदेश सरकारले जिल्लाको विकास गर्नका लागि यथेष्ट बजेट विनियोजन गर्न नसकेको धारणा राख्नुभएको थियो । वित्त आयोगका अध्यक्ष जुद्ध गुरुङले जिल्लाको विकास निर्माणको काममा सहकार्य र समन्वय हुनुपर्ने धारणा राख्नुभएको थियो । त्रिविका उपकुलपती प्रा.डा.खडक केसीले शैक्षिक क्षेत्रको सुधारका लागि सवैको प्रयास हुनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

समावेशी आयोगकका माननीय पुष्प तिमिल्सीनाले छोटो अवधिमा जिल्लामा विकास निर्माणमा फड्को मारे पनि अझै पनि विकास आयोजनाका थुप्रै कामहरु बाँकी रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले मोदी गाउँपालिकाले आगामी बजेट निर्माणको बेलामा कस्ता योजना सहभागी गराउँदा सम्बृद्धिको दिशामा अघि बढ्न सकिन्छ भन्ने विषयमा सवैजनाको सुझाब माग गर्नुभएको थियो । अध्यक्ष शर्माले पर्वत जिल्लामा धेरै सम्भावनाहरु रहेपनि तिनीहरुको समुचित प्रयोग गर्न नसकिएको धारणा राख्नुभयो ।

कार्यक्रममा मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले जिल्लाको विकास निर्माणको गतिलाई स्थानीय, प्रदेश र संघ सरकारले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विदेशीरहेको युवा जनशक्तिलाई जिल्लामै टिकाईराख्नका लागि ल्याउनुपर्ने नीति तथा कार्यक्रममा सवैको ध्यान जानुपर्ने विचार ब्यक्त गर्नुभयो ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले मोदी गाउँपालिकामा सञ्चालन भएका योजनाहरुको अवस्था, सम्भावना र भावी कार्यक्रमहरुको विषयमा प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्र, शिक्षा, इन्जिनियरीक, कृषि क्षेत्र, सरकारी निकायका विभिन्न पदमा रहनुभएको बौद्धिक तथा बिशिष्ट ब्यक्तिहरु र मोदी गाउँपालिकाका वडाअध्यक्षहरुको सहभागीता रहेको थियो ।