Print

नियमित काममा फर्कन शिक्षकलाई नारायण माविको निर्देशन


९ वैशाख, पर्वत । विगत ३ साता देखि विद्यालय बन्द गरेर काठमाण्डौंको सडकमा नाँचगान गरीरहेका शिक्षकहरुलाई विद्यालयमा फर्केर नियमित काममा लाग्न विद्यालय ब्यवस्थापन समितिहरुले निर्देशन दिने क्रमः शुरु भएको छ । यसै पर्वतकै सामुदायिक तर्फको नमुना विद्यालय नारायण माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षले अबोध बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

झण्डै १ हजार ५ को संख्यामा विद्यार्थी रहेको नारायण मावि जिल्लाकै उत्कृष्ट विद्यालय हो । शिक्षकहरुले आफ्नो माग राखेर विद्यालय लामो समय बन्द गर्दा विद्यालयका नियमित पठ्पाठन अवरुद्ध भएको छ । ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई पत्र लेख्दै आन्दोलनमा सरिक नभएका शिक्षकहरुलाई विद्यार्थी स्वागत कार्यक्रम, नयाँ पाठ्यपुस्तक वितरण, बािर्षक कार्य योजना निर्माण, जिम्मेवारी बाँडफाँट जस्ता कार्यमा लाग्न निर्देशन दिएका हुन् ।


शर्माले शिक्षक आन्दोलन प्रति एक्यबद्धता जनाउँदै आन्दोलनका कारण अभिभावकहरुमा अन्यौलता सृजना भएको उल्लेख गरेका छन् । शर्माले विद्यालयमा भर्ना अभियानका नियमित कामहरु भईरहेको समेत उल्लेख गरेकाछन् ।

सामुदायिक विद्यालयहरु बन्द भईरहँदा नीजि विद्यालयहरुमा भर्ना हुनेको संख्या पछिल्लो समय पर्वत बढेर गएको छ । कुश्मा २ कालीका माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कालीका शर्माले समेत विद्यालय शिक्षक र कर्मचारीलाई नियमित काममा लाग्न निर्देशन दिएका छन् ।

शर्माले नीजि विद्यालयले गाडी पठाएर गाउँ गाउँबाट विद्यार्थी बटुलीरहेको बेलामा सामुदायिक विद्यालय बन्द हुनु बिडम्बना रहेको समेत बताए । भर्ना अभियान चलाउनुपर्ने बेलामा शिक्षकहरु काठमाण्डौंमा जम्मा भएर जाँदु देखाउने, टिकटक बनाउने अभियानमा लागेको भन्दै प्रधानमन्त्री केपी ओलीले समेत शिक्षकलाई नियमित काममा लाग्न अनुरोध गर्दै आइरहेका छन् ।

उता, शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षकहरुको माग सम्बोधन गर्न नसकिने भएकाले मन्त्री पदबाट राजीनामा दिएकी छिन् । आन्दोलन अनिश्चित बनिरहेको बेलामा कक्षा १२ को परिक्षा समेत अन्यौलपूर्ण बनिरहेको छ ।