४ असार, पर्वत । विहादी गाउँपालिकको प्रमुख समस्या बसाईसराई रहेको छ । बसाईसराईको दर उच्च भएपछि गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा बसाईसराईको दरलाई न्यूनिकरण गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङले सोमबार गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका अधिकांश बुँदाहरुले बसाईसराई न्यूनिकरणको प्रयास गरेका छन् ।
गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण पूर्व सञ्चालन गरेको सुझाब संकलन कार्यक्रममा समेत प्राप्त सुझाबहरुलाई ग्रहण गर्दै आगामी बर्षको नीति तथा कार्यक्रम पेश भएको छ । अध्यक्ष गुरुङले पेश गरेको नीति तथा कार्यक्रम सर्वसहमत पारित समेत भएको छ । नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्रमुख एजेण्डाको रुपमा उठान गरिएको छ ।
शैक्षिक क्षेत्रको विकास र विस्तार हुन नसक्दा गुणस्तरीय शिक्षाका लागि बसाईसराई भईरहेको तथ्यलाई नीति तथा कार्यक्रमले न्यूनिकरण गर्ने अध्यक्ष गुरुङले विश्वास लिएका छन् । उनले नीति तथा कार्यक्रममा सरकारी विद्यालयको शिक्षाको गुणस्तर कायम गर्न विद्यार्थी उर्तिण प्रतिशतलाई एउटा आधार बनाएका छन् । नीति तथा कार्यक्रममा ५५ प्रतिशत भन्दा कम विद्यार्थी उर्तिण भए विषय शिक्षकको आन्तरीक सरुवा गरिने कुरा उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयका शैक्षिक क्षेत्रको गुणस्तर कायम गर्न नीति तथा कार्यक्रममा भनिएको छ : सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नतिजामा कम्तिमा ५५ प्रतिशत विद्यार्थी उर्तिण हुनुपर्नेछ । कम्तिमा ५५ प्रतिशत उर्तिण हुन नसकेमय विषयगत शिक्षकको आन्तरीक सरुवाको विषयलाई अगाडी बढाईनेछ ।
गाउँपालिकाले शिक्षा क्षेत्रसंग सम्बन्धित २० बुँदे नीति तथा कार्यक्रम पारित गर्दै शिक्षा क्षेत्रको विकास र विस्तार मार्फत गाउँपालिका भित्रको बसाईसराई दरलाई न्यूनिकरणको प्रयास गरेको देखिन्छ ।
यस अघि गाउँपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुको मर्ज गर्ने अभियान सञ्चालन गरीसकेको छ । विद्यार्थी नभएका विद्यालयलाई क्रमशः कक्षाको संख्या घटाउँदै मर्जको नीति गाउँपालिकाले अबलम्बन गरीरहेको छ ।
आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई समेत प्राथामिकता दिदै अनुदान र राहतका कार्यक्रमहरु समेत अगाडि बढाउने घोषणा गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाले एक घर एक युवा स्वरोजगार कार्यक्रम समेत लागू गर्ने घोषणा गरेको छ ।




