Print

देउपुरमा सुन्तला उत्पादन घट्यो


९ पुष, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको देउपुरमा यस बर्ष सुन्तला उत्पादन घटेको छ । सुन्तला उत्पादनमा जिल्लाकै दोस्रो वडा देउपुरमा यस बर्ष सुन्तला उत्पादन घटेको हो ।

गत बर्षको तुलनामा झण्डै ३० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् । गत बर्ष ४ लाख ५० हजारसम्म आम्दानी गर्ने कृषकले यस बर्ष ३ लाख भन्दा बढि आम्दानी गरेका छैनन । रुखमा फल्ने सुन्तलाको दानाको संख्यामा यस बर्ष कमी आएको छ ।

कृषक दाताराम चापागाईले गत बर्षको तुलनामा उत्पादन घटेको बताउँछन् । धेरै सुन्तला उत्पादन गर्ने चापागाईले यस बर्ष सोचे अनुसारको आम्दानी गर्न सकेनन । सुन्तला उत्पादनमा कमी आएसंगै देउपुरका कृषकहरु चिन्तित छन् ।

वडा सदस्य समेत रहेका कृषक यमनारायण चापागाईले वडा भरी नै सुन्तला उत्पादनमा कमी आएको बताए । गत बर्षको तुलनामा झण्डै ३० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको चापागाईको भनाई छ ।

बार्षिक डेढ करोडसम्मका सुन्तला विक्री गर्ने देउपुरका कृषकहरुले यस बर्ष भने त्यो रकम गुमाएका छन् ।