२९ कार्तिक, पर्वत । असोज १२ गते आएको बाढिका कारण ३ जना मानिसलाई वेपत्ता बनाएको तमादीखोलामा मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । सिद्धबाबा निर्माण सेवाले निर्माण बर्षात सकिए लगतै पुलको निर्माण कार्यको शुरुवात गरेको हो । कुल ६ करोड २५ लाखको लागतमा पुल निर्माण हुँदैछ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा उक्त पुल निर्माण हुँदैछ । राष्ट्रिय लोकमार्गको रुपमा रहेको मध्यपहाडी लोकमार्गसंगै उक्त पुल निर्माण हुन लागेको हो ।
२०८० सालाको चैत महिना भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण ब्यवसायीसग सम्झौता भएको छ । पुलको दुई तर्फी पिल्लरको काम सकिएको छ भने स्लेप ढलनको तयारी भईरहेको छ । पुल निर्माण नहुँदा उक्त स्थानमा बर्षेनी खोलामा बाढि आउने र सडक अवरुद्ध हुने गरेको थियो ।
गत महिना मात्र साँझको समयमा आएको बाढिले यात्रुबहाक जीपलाई बगाउँदा २ जनाको मृत्यु भएको छ भने १ जना अझै पनि वेपत्ता छन् ।




