Print

पर्वत घुम्ने सोचमा हुनुहुन्छ ? यसरी रमाउन सकिन्छ पर्वतमा

१३ कार्तिक, पर्वत । पर्वत देशको चौथो सानो जिल्ला हो । भौगोलिक रुपमा सानो पर्वत जिल्ला राजनैतिक रुपमा ७ स्थानीय तह र एक संघीय निर्वाचन क्षेत्र भएको जिल्ला हो । साक्षरता दर उच्च रहेको पर्वत जिल्लामा शिक्षित ब्यक्तिहरुको बसोबास छ । विश्व भर हिन्दु धर्मावलम्बीहरुका लागि प्रसिद्ध कृष्णगण्डकी (कालीगण्डकी) नदी र उर्जा खोलाको रुपमा परिचित मोदीखोलाका कारण पर्वत जल क्षेत्रमा धनि मानिन्छ । शालिग्रामका लागि प्रसिद्ध नदी कालीगण्डकी र ऋषीहरुको तपोवनको रुपमा पञ्चासे र डहरेका लेकहरु यो जिल्लाका प्रसिद्ध लेकहरु हुन् ।

बञ्जि जम्प

दक्षिण एसियाकै अग्लो बञ्जि जम्प साहसिक खेलाडीहरुका लागि रुचिको विषय हो । पछिल्लो समय बच्चा देखि बृद्धसम्मको रोजाईमा साहसिक खेल पर्ने गरेको छ । पर्वतको कुश्मा बजारमा रहेको बन्जी जम्प देशकै चर्चित बन्जी हो । यहाँ कालीगण्डकी नदीको गहिरो खोचमा बन्जि गर्न मिल्छ । नीजि क्षेत्रको द क्लिप प्रा.लिले सञ्चालनमा ल्याएको बञ्जिले ग्राहकहरुलाई आकर्षित गर्न अन्य साहसिक खेलहरुको पनि विकास गरेको छ । स्विङ, स्काई क्याफे, स्काई साइकलिङ र अन्य मनोरञ्जनात्मक खेलहरु बञ्जिमा उपलब्ध छ । आवासीय बसाईको ल लागि बञ्जिमा रिर्सोट समेतको निर्माण गरिएको छ ।

जीपलाईन

साहसिक खेल रुचाउनेको लागि अर्को खेल कुश्मामा उपलब्ध छ, जीपलाईन । द हार्नेस प्रालिले सञ्चालनमा ल्याएको जीपलाईलाई सुपरम्यान शैलीको विश्वकै लामो दुरीमा रहेको जीपलाईको रुपमा कम्पनीले घोषणा गरेको छ । जीपलाईनमा १ हजार ४ सय ८० मिटर दुरी डोरीमै झुण्डिएर पार गर्न सकिन्छ । कालीगण्डकी नदी माथि निर्माण गरिएको जीपलाईन कुश्माको चाक्लेको डिलबाट शुरु भएर साउनेबगरमा पुग्छ । कम्पनीले आवासीय बसोबासका लागि एड्भेन्चर रिर्सोट समेत सञ्चालनमा ल्याएको छ ।

गुप्तेश्वर गुफा

जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर गुफा सात तले अलौकिकक गुफा हो । नेपालकै लामो गुफा र भगवान शिवलाई पति पाउँ भनि पार्वतीले तपस्या गरेको स्थलका रूपमा परिचित भए गुफा अर्को धार्मिक पर्यटकीय स्थल हो । बालाचतुर्दशी, महाशिवरात्री, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सक्रान्ति लगायतका चाडपर्वहरूमा विशेष मेला लाग्ने गर्दछ । गुफाभित्र भगवान् शिवका दसौँ पाउहरू, महाकाली, महालक्ष्मी र सरस्वतीका मूर्तिहरू, शिवलिङ्ग, सरस्वती माताको रूप, शिव पञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्तिलगायत ३३ कोटी भगवानका आकृति भएका मूर्तिहरू भएकाले यसलाई धार्मिक रूपमा निकै महत्वपूर्ण स्थलका रूपमा मानिँदै आएको छ ।

शालिग्राम शिला

पर्वतको बिहादी गाउँपालिकामा कालीगण्डकी नदीको किनारमा रहेको ठूलो ढुंगा अर्थात शिलालाई विश्वकै ठूलो शालिग्राम शिला भनिएको छ । शिलामा पूजाआजा गर्नको लागि बिशेषत माघेसंक्रान्तिको अवसरमा भक्तजनहरुको ठूलो भिडभिड हुने गरेको छ । सेतीबेणीमा पर्वत, स्याङ्गजा, गुल्मी, म्याग्दी र बागलुङ्ग लगायतका ठाउँका भक्तजनहरु अवलोकन र पूजाआजाको लागि जाने गरेका छन् । पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीमा कालीगण्डकी जलबिद्युत केन्द्रमा बनेको जलासयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । शालिग्राम शिला पुग्नको लागि कालीगण्डकी लोकमार्गबाट फलेवास, बाच्छा हुँदै जान सकिन्छ । पर्वत सदरमुकाम कुश्माबजारबाट सवारीमा झण्डै ४ घण्टाको यात्रामा शिलामा पुग्न सकिन्छ ।

अग्ला पुल

पर्वतको सदरमुकाम कुश्मा बजारमा रहेका ५ वटा अग्ला पुलहरु यो क्षेत्रमा अवलोकनीय स्थलहरु हुन । कालीगण्डकी नदीको खोचमा दुईवटा र मोदी खोलाको खोचमा ३ वटा अग्ला झोलुंगे पुलहरु रहेका छन । जिल्लामा पहिलो पल्ट कुश्मा ज्ञादी जोड्ने झोलुंगे पुल निर्माण भएको हो । लगतै कुश्मा देखि बागलुङको कैया जोड्ने झोलुंग पुल निर्माण सम्पन्न भयो । यसैगरी कुश्मा देखि मुडिकुवा जोडने र कुश्मा देखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंगे पुल पनि निर्माण सम्पन्न भएको छ । पर्वतकै कुश्मा १ बाट बागलुङ जोड्ने गरी देशकै अग्लो स्थानमा रहेको लामो पुल समेत निर्माण भएको छ ।

महाशिला

एसियाकै ठूलो भएको दावी गरिएको महाशिला पर्वतको महाशिला गाउँपालिकामा पर्दछ । मेहल ढुंगाको नामले परिचित महाशिला ठूलो क्षेत्रफलमा फैलिएको एउटै ढुंगा हो । पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको महाशिलामा धार्मिक आकृर्तितहरु निर्माण गरिएका छन् । सदरमुकाम कुश्मा बजारबाट करिव ४० किलोमिटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठूलो ढुंगाकै नामबाट गाउँपालिकाको नाम महाशिला राखिएको हो ।

यान्त्रिक पुल

यति मात्र होइन पर्वत जिल्लामा यान्त्रिक पुलको यात्रा गर्न पाइन्छ । केबलकार मोडलमा नीजि क्षेत्रले लगानी गरेर निर्माण गरिएको उक्त यान्त्रिक पुल तुईनको परिस्कृत रुप हो । तुइन प्रविधिलाई यान्त्रिकीकरण गरी पुल निर्माण गरिएको छ । कालीगण्डकी नदीको गहिरो खोचमा निर्माण गरिएको उक्त पुलमा यात्रा गरी कुश्मा देखि बागलुङको बलेवासम्म जान सकिन्छ । यान्त्रिक पुलको लम्बाई ५ सय ६७ रहेको छ ।

उच्च लेकहरु

जिल्लामा केहि एतिहासिक कोटहरु पनि रहेका छन । दुर्लुङकोट, भवरकोट, पैयूकोट पर्यटकीय हिसावले सम्भावना बोकेका कोटहरु हुन । यति मात्र होइन पर्वत जिल्लामा केहि उच्च पहाडी भेगहरु छन । जसलाई पर्यटकीय हिसावले पनि हामीले यात्रा गर्न सक्छौ । जलजलाको हम्पालको लेक, पञ्चासेको लेक, डहरेको लेक र चिसापानीको लेक अग्ला र पर्यटकीय सम्भावना बोकेका लेकहरु हुन । यी ठाउँहरुमा पुग्दा त्यहाँबाट देखिने दृश्यले सवैको मन लोभाउँछ ।

अर्थ वीट साप्ताहिकमा प्रकाशित समाचार