२४ कार्तिक, पर्वत । बुधवार नेकपा एमालेका उमेदवाहरु पर्वतको फलेवास नगरपालिकाका ३ वडाहरु घुम्दा त्यहाँका स्थानीयमा उत्साह थियो । ५ बर्ष अघि प्रतिनिधि सभामा निर्वाचित भएका पूर्व सांसद पदम गिरी सहित प्रदेश सभाका उमेदवार मित्रलाल बस्याल चुनावी कार्यक्रम लिएर फलेवास पुगेका थिए ।
५ बर्ष अघि सांसद गिरीले साइकलचोक मुडिकुवा देविस्थान ढिक सडक कालोपत्रेको प्रतिबद्धता ब्यक्त गरेका थिए । सडक खनिएको २ दशकसम्म पनि कालोपत्रे नभएको उक्त सडक कालोपत्रे गर्ने र घर घरमा खानेपानीको धारा ल्याउने गिरीले ५ बर्ष अघिको प्रतिबद्धता सम्झाए । घर दैलोमा पुगेर ५ बर्ष अघिको वाचा पुरा भयो अव हजुरहरुको अपेक्षा पुरा गर्छु भन्दै गिरीले मत मागे ।
उमेदवार घरदैलोमा आए पछि मुडिकुवा बासीले खेलकुद मैदान र बाह्ै महिनासम्म आउने खानेपानीको ब्यवस्थापन गर्न माग गरे । देविस्थानबासीले लोकमार्ग सडक र लमायखोला पुल निर्माणको लागि माग गरे ।
उमेदवार गिरीले सडकसंगै देविस्थानमा निर्माणधिन अस्पताल सम्पन्न गरी विशेषज्ञ सेवा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उमेदवारले गरेको प्रतिबद्धता पुरा गरेको भन्दै मतदाताले पूर्व जनप्रतिनिधिलाई धन्यवाद दिए ।
एमालेको आधार इलाकाको रुपमा परिचित फलेवासको उक्त क्षेत्रमा उमेदवारहरुले जिल्लाको सम्बृद्धिका लागि आफूहरुलाई मतदान गर्न अनुरोध गरेका थिए ।
मुडिकुवा, देविस्थान र फलेवासमा ३ मुख्य सडक छन् । मुडिकुवा खानीगाउँ झकलक लमायखोला सडक कालोपत्रे भईसकेको छ । मुडिकुवा देविस्थान ढिक सडकमा पनि कालोपत्रेको काम भईरहेको छ । बाँकी रहेको लोकमार्ग सडक कालोपत्रे गरेपछि यो क्षेत्रका सवै मुख्य सडकहरु कालोपत्रे हुन्छन् ।




