Print

कोरोना संक्रमणको दोस्रो लहर : पर्वतमा विद्यालय बन्दको निर्णय नहुँदा बालबालिका उच्च जोखिममा

८ वैशाख, पर्वत । कोरोना संक्रमणको दोस्रो चरण नेपालमा शुरु भएसंगै सरकारले उच्च सर्तकता अपनाउन सवैलाई आग्रह गरेको छ । पहिलो चरणको संक्रमण भन्दा दोस्रो चरणको संक्रमणको दर उच्च रहेकाले संक्रमणबाट बच्न सरकारले विभिन्न मापढण्ड जारी गरीरहेको छ । पर्वत जिल्लामा पहिलो चरणको संक्रमणबाट ठूलो मानवीय क्षति नभए पनि ३ जनाको भने मृत्यु भएको छ । झण्डै ४ सयको संख्यामा संक्रमीत रहे पनि जटिल अवस्थामा पुग्नेको संख्या निकै कम थियो । तर, दोस्रो चरण भारत हुँदै नेपालमा भित्रिएपछि त्यसले कति क्षति पुराउने हो त्यसको आकलन गर्न सकिएको छैन् ।

दोस्रो चरणको संक्रमणलाई रोकथाम गर्नका लागि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । छिमेकी जिल्ला बागलुङमा संक्रमण ठूलो संख्यामा पुष्टि भएको छ । बागलुङको बलेवा क्षेत्रमा एकै ठाउँमा ३९ जनामा संक्रमण देखिए पनि पर्वतमा पनि थप कडाई गरिएको हो । कोरोना सङ्क्रमणको उच्च जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालय पर्वतले भिडभाड हुने खालका सवै कार्यक्रम बन्द गर्न भनेको हो । सिनेमा हल, आमसभा, जुलुस, खेलकुद र मानिसको भिडभाड हुने सवै गतिविधि पुणर् रुपमा बन्द गर्न, वैशाख मशान्त भर मठ, मन्दिरहरुमा सामाजिक दुरी कायम गरेर मात्र पुजापाठ गर्न आग्रह गरेको छ । होटल व्यावसाय राती ८ बजेसम्म मात्र संचालन गर्ने, अन्य पसलहरुमा सामाजिक दुरी कायम गर्नुका साथै मास्क र सेनिटाईजरको अनिवार्य प्रयोग गर्न पनि प्रशासनले निर्देशन गरेको छ । सार्वजनिक यातायातका साधनमा सिट क्षमता अनुसार मात्र यात्रु राख्न, मास्क र सेनीटाईजरको प्रयोग अनिवार्य गर्न, कुनै यात्रुले मास्क नलगाएको भए सम्वन्धित सवारी साधनले उपलव्ध गराउन र लामो दुरीका सवारी साधनहरुलाई बीच बाटोमा यात्रु झार्ने र चढाउने नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलवार सम्पन्न वैठकले उक्त निणर्य गरेको हो । नेपाल सरकारले पनि सोमबारबाटै १५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नहुने निणर्य गरेको भन्दै सो निणर्य जिल्लामा पनि कडाईका साथ पालना गर्न प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गरिन् । बैठक, छलफल लगायतका कार्य अनलाइन मार्फत गर्न आग्रह गर्दै उहाँले यदि भेला नै हुनु पर्ने भए १५ जना भन्दा कम मात्र भेला भई भौतिक दूरी कायम गर्नुपर्ने उहाँको भनाई छ ।
उता, विद्यालय सञ्चालनको अधिकार भने स्थानीय तहलाई प्रत्याजन भएको छ । सरकारले स्थानीय तहहरुले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न आग्रह गरेका छ । संक्रमणको उच्च जोखिमका जिल्लाहरुलाई किटान नै गरेर विद्यालय बन्द गर्न सरकारले निर्देशन समेत गरेको छ । एता, छिमेकी जिल्लामा संक्रमण देखिदा पनि पर्वतका भने औपचारिक रुपमा विद्यालय बन्दको निर्णय स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले भने गरेको छैन् ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले संक्रमणको अवस्था भयाभह हुनसक्ने भन्दै विद्यालय तत्काल बन्द गर्नुपर्ने सुझाब दिन्छन् । अधिकार प्राप्त निकायल विद्यालयलाई वैशाख महिनासम्म बन्द गर्न उनको सुझाब छ । विद्यालयमा संक्रमण फैलदा त्यसले अवस्था विकराल ल्याउन सक्ने भएकाले त्यस तर्फ सोच्ने डा. गौतमको आग्रह छ । उनले अव पहिलो चरणमा जस्तो समुदाय स्तरमा गएर स्वाब संकलन नगरिने बताए । संक्रमणको लक्षण देखिएकाहरुलाई स्थानीय तहले नै स्वाब संकलन गरेर संक्रमणको अवस्था पहिचान गर्नुपर्ने डा. गौतमको भनाई छ ।