२८ चैत, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रको एउटा मनोरम गाउँ, डाडाँगाउँ । जिल्लाको पैयू गाउँपालिका वडा न ६ सरौखोलामा पर्दछ । उब्जनी र उत्पादनको हिसावले कृषिमा उर्बर भूमि मानिएको डाडागाउ अहिले भने शोकमग्न छ । बस्ती नजिकैको पाँखामो लागेको आगोका कारण अहिले वस्तीका दर्जन बढि घरहरु जलेर खरानी बनेका छन् । शुक्रबार दिउँसोको समय खरवारीमा लागेको आगो निभाउने प्रयास गर्दै थिए स्थानीयले ।
आगो लागि रहेको बेला ठूलो हुरी बतास चल्यो । आगोको मुस्लो वस्तीमा प्रवेश गरेर ५ वटा घरलाई खरानीमा परिणत गरिदिएको छ भने अनय ५ वटा घरमा लागेको आगो स्थानीयले नियन्त्रणमा लिएका छन् । आगलागीका कारण १५ वटा गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगो लागिरहेको बेलामा अरुको गोठको आगो निभाउन जाँदै गर्दा स्थानीय शेरप्रसाद गौतमको गोठमा आगो सल्कीयो । छिमेकीलाई सहयोग गर्न पुगेका उनी आफ्नै गोठमा आगो लागे पछि पशु चौपाया बचाउन तर्फ लागे । यत्तिकैमा उनको घरमा पनि आगो सल्कियो । हेर्दा हेर्दै घर पनि जलेर खरानी बन्यो । शेरबहादुर भन्छन्–‘लगाउने लुगा र खाने अन्न पनि निकाल्न पाइएन ।’ हुरी बताससंगै लागेको आगो निभाउने उनको प्रयास सफल हुन सकेन् । गहभरी आँशू झार्दै उनकी श्रीमती यानुका देवी गौतम भन्छिन–‘भुकम्पको भत्काएको घर फेरी ऋण धन गरेर बनाएका थियौ, अहिले आगोले खरानी बनायो ।’
घर जलेपछि शुक्रबार रातभरी बारीको काल्लामा त्रिपाल टाँगेर बसेको गौतम दम्पत्तिले बताए । २ छोरा मध्ये १ छोरा घरमै छन् । यानुका भन्छिन–‘हाम्रो सर्वस्व नै गयो, लगाउने लुगा र खाने अन्न केहि छैन ।’ आगोले घर जलेपछि गाउँपालिकाबाट पाएको त्रिपालमुनी उनीहरु रात काटिरहेका छन् । ‘छिमेकी सवैको घरमा आगोले केहि न केहि क्षति गरेको छ । छिमेकीको घरमा पनि बास पाउन गाहे छ ।’ गौतम दम्पत्ति भन्छन्–‘यस्तो दैव कसै माथि पनि नलागोस ।’ गाउँमा गौतम दम्पत्ति जस्तै अन्य ५ घर परिवार विस्थापीत भएका छन् । ५ वटा घरहरुमा आगोले क्षति पुराएको छ ।
दिउँसो देखि लागेको आगो स्थानीयबासी र प्रहरी मिलेर राती अवेर मात्र नियन्त्रणमा लिएका थिए । मौसम प्रतिकूल हुँदा आगोले धेरै क्षति पुराएको वडाअध्यक्ष थानेश्वर तिवारी बताउँछन् । दिनको समय भएकाले तत्काल उद्धार गरेर पशु चौपाय बचाए पनि एउटा भैसी र केहि बाख्रा आगोमा जलेका छन् । दिउँसोको समय भएकाले मानविय क्षति भने नभएको उनको भनाई छ ।
यसैवीच आगलागी भएको स्थानमा प्रतिनिधि सभाका सांसद पदम गिरी पुगेका छन् । शनिवार आगलागी भएको स्थानमा पुगेका सांसद गिरीले घटनाको जानकारी लिएका थिए । उनले पिडित परिवारलाई सान्तवना दिदै आगोलागेर घरमा क्षति पुगेका परिवारलाई आवश्यक सहयोग जुटाउन संघ र प्रदेश सरकारमा पहल गर्ने आश्वासन दिएका छन् । उनले विपद्का घडिमा सवै जना मिलेर पिडित परिवारलाई सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् ।




